August 29, 2026, Saturday
२०८३ भाद्र १३

सुदूरपश्चिम सरकारको निर्णय : नीति आयोगमा उपाध्यक्षसहित दुई सदस्य नियुक्त, बाढीपीडितलाई २ करोड

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढी प्रभावितको राहत, उद्धार तथा खोजतलासका लागि २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट २ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

बैठकले प्रदेश सरकारका मन्त्रीहरूको एक–एक महिनाको पारिश्रमिकसमेत बाढी प्रभावितको राहतका लागि उपलब्ध गराउने निर्णय गरेको छ।

बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोली परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ। प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सकसहितको टोली पठाउने र औषधिको व्यवस्थापन गर्ने प्रदेश सरकारले जनाएको छ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेश नीति तथा योजनाको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्ट, सदस्यमा गंगादत्त जोशी र हिरा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको छ।