भोटेकोशी बाढीमा सम्पर्कविहीन सुदूरपश्चिम प्रदेशका १४० मध्ये १० जना सकुशल भेटिए

धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका १४० जनामध्ये १० जना सकुशल भेटिएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सम्पर्कमा आउनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का सुनिल चौधरी, भीमदत्त नगरपालिका–६ की चन्दा जोशी, वेदकोटका अजय राना, सुरेश राना, सन्तोष राना, बेलौरीका नवीन चौधरी, आदर्श चौधरी, कञ्चनपुरकै राकेश भट्ट र प्रदीप चन्द तथा डडेल्धुराका सुनिल बुढामगर रहेका छन्।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टका अनुसार सम्पर्कमा आएका १० जनामध्ये सात जना हाइड्रोपावरमा काम गर्ने व्यक्ति हुन् भने चन्दा जोशी नर्सिङकी विद्यार्थी हुन्। बाँकी दुई जना किन रसुवा पुगेका थिए भन्ने खुलेको छैन।
एसएसपी बिष्टका अनुसार १० जना सम्पर्कमा आएपछि सुदूरपश्चिम प्रदेशका अझै १३० जना सम्पर्कविहीन छन्।
जिल्लागत विवरणअनुसार कैलालीका ४९, कञ्चनपुरका ३४, बाजुराका १४, डडेल्धुराका १७, बैतडीका आठ, दार्चुलाका चार, डोटी र बझाङका दुई–दुई तथा अछामका एक जना सम्पर्कविहीन छन्।
सुदूरपश्चिम प्रदेश घर भई कामको सिलसिलामा रसुवा पुगेका मजदुर, कर्मचारी तथा सुरक्षाकर्मी भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हुन्।





प्रतिकृया दिनुहोस्