August 29, 2026, Saturday
२०८३ भाद्र १३

विपद् स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालयले तोक्यो फोकल पर्सन

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा आपत्कालीन स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउन विभिन्न विषयगत क्षेत्रका लागि फोकल पर्सन तोकेको छ।

मन्त्रालयका अनुसार स्वास्थ्य आपत्कालीन अवस्थाको समग्र समन्वयका लागि स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी)का प्रमुख डा. हेमन्तचन्द्र ओझालाई फोकल पर्सन तोकिएको छ। आपत्कालीन मेडिकल टोली तथा मानव स्रोत परिचालनका लागि एचईओसीसँगको समन्वयमा डा. रोशन न्यौपानेलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, प्रदेशस्तरीय समन्वयका लागि स्वास्थ्य सेवा विभागबाट डा. फणीन्द्रप्रसाद बराल र मन्त्रालयबाट डा. समीरकुमार अधिकारीलाई फोकल पर्सन तोकिएको मन्त्रालयले जनाएको छ।

घटनास्थलमा संघीय स्वास्थ्य टोली परिचालनका लागि रसुवामा डा. प्रकाश ज्ञवाली र शंकर कँडेल तथा नुवाकोटमा डा. प्रशान्त नापित र प्रवीण कार्कीलाई जिम्मेवारी दिइएको छ।

यसैगरी, सम्भावित महामारीको जोखिम न्यूनीकरण, पूर्वतयारी, निगरानी तथा आवश्यक प्रतिकार्यका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. अमृत पोखरेललाई फोकल पर्सन तोकिएको छ।

विपद्का समयमा सर्वसाधारण, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबीच आवश्यक सहयोग तथा समन्वयलाई सहज बनाउन मन्त्रालयले ‘विपद् स्वास्थ्य सहयोग समन्वय’ प्रणाली समेत सञ्चालनमा ल्याएको छ।

मन्त्रालयका अनुसार उक्त प्रणालीमार्फत उपचार, औषधि वा अन्य स्वास्थ्य सहयोगका लागि अनुरोध गर्न सकिनेछ। स्वास्थ्यकर्मीले स्वयंसेवाका लागि आफ्नो विवरण दर्ता गर्न तथा स्वास्थ्य संस्थाले मेडिकल टोली, औषधि वा उपकरण सहयोगको प्रस्ताव राख्न सक्ने व्यवस्था गरिएको छ।

मन्त्रालयले औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्न इच्छुक व्यक्ति तथा निकायलाई तत्काल सहयोग गर्न आग्रह गरेको छ। सहयोगका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको विवरणसमेत मन्त्रालयले सार्वजनिक गरेको जनाएको छ।

सम्पर्कको लागी विवरण :

  • स्वास्थ्य आपत्कालीन समन्वय : डा. हेमन्तचन्द्र ओझा — ९९८४९३६१५९३०
  • आपत्कालीन मेडिकल टोली तथा मानव स्रोत : डा. रोशन न्यौपाने — ९९८५७६४०६२५०
  • प्रदेशस्तरीय समन्वय : डा. फणीन्द्रप्रसाद बराल — ९९८४१२४०५८७०
  • मन्त्रालयस्तरीय समन्वय : डा. समीरकुमार अधिकारी — ९९८५१०५४६९९०
  • रसुवा : डा. प्रकाश ज्ञवाली — ९९८४१२५८२३३०, शंकर कँडेल — ९९८५१२०४१८१०
  • नुवाकोट : डा. प्रशान्त नापित — ९९८४९०८६२७१०, प्रवीण कार्की — ९९८६०१२८२४७०
  • महामारी जोखिम तथा निगरानी : डा. अमृत पोखरेल — ९९८४१०४३७३३०