August 29, 2026, Saturday
२०८३ भाद्र १३

सुदूरपश्चिमका दुई प्रदेश गौरवका सडक वैकल्पिक राजमार्गका रूपमा विकास गरिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका रूपमा निर्माण भइरहेका दुई सडकलाई वैकल्पिक राजमार्गका रूपमा विकास गर्ने निर्णय गरेको छ।

प्रदेश मन्त्रिपरिषद् बैठकले डडेल्धुराको दैजी-लिप्ना-जोगबुढा-ढुंगाड-देउरा र कञ्चनपुरको बेलौरी-कलुवापुर-नायल-बुडर सडकलाई वैकल्पिक राजमार्गका रूपमा अघि बढाउने निर्णय गरेको हो।

यी दुवै सडकलाई प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि प्रदेश गौरवका आयोजनाका रूपमा अघि बढाउँदै आएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार दैजी–लिप्ना–जोगबुढा–ढुंगाड–देउरा सडकको १३३ किलोमिटर ट्र्याक खोलिसकिएको छ। त्यसमध्ये ३४ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने हाल चारवटा ठेक्कामार्फत निर्माण कार्य भइरहेको छ।

यस्तै, बेलौरी–कलुवापुर–नायल–बुडर सडकको ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको छ। हालसम्म १८ किलोमिटर सडक कालोपत्रे भएको र एउटा ठेक्का सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ।

धनगढी बसपार्क प्रदेशको प्राथमिकता प्राप्त आयोजनामा

मन्त्रिपरिषद् बैठकले धनगढी उपमहानगरपालिका–३ स्थित शान्ति सामुदायिक वनको ४.८१ हेक्टर क्षेत्रफलमा निर्माण हुने बसपार्कलाई प्रदेशको प्राथमिकता प्राप्त आयोजना सूचीमा समावेश गर्ने निर्णयसमेत गरेको छ।

बसपार्क निर्माण आयोजनालाई प्रदेशको प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिए।

भोटेकोशी बाढीप्रति शोक प्रस्ताव

बैठकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको मन्त्री रावलले बताए।

सबै प्रदेश कार्यालयमा स्तनपान कक्ष र सेनेटरी प्याडको व्यवस्था

मन्त्रिपरिषद्ले प्रदेश सचिव धर्मराज जोशीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ।

त्यस्तै, प्रदेश सरकार मातहतका कार्यालयमा महिला, पुरुष, अपांगता भएका व्यक्ति तथा लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि छुट्टाछुट्टै शौचालय निर्माण गर्ने निर्णय गरिएको छ।

प्रदेश सरकार मातहतका निकायमा स्तनपान कक्ष निर्माण गर्नुका साथै सबै कार्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने निर्णयसमेत गरिएको प्रवक्ता रावलले जानकारी दिए।