October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

भोटेकोशीको भीषण बाढीपछि त्रिशूलीमा खतरा तह पार, तटीय बस्ती खाली गर्न अपिल

काठमाडौँ : रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीमा जलसतहले खतराको तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मलेखुस्थित फुर्के जलमापन केन्द्रमा त्रिशूली नदीको जलसतह खतराको तहभन्दा माथि पुगेको हो।

महाशाखाले बुधबार बिहान ११ः४३ बजे चेतावनी जारी गर्दै रसुवाको भोटेकोशीमा आएको बाढीका कारण फुर्के जलमापन केन्द्रमा त्रिशूलीको जलसतह खतराको तह पार गरेको र अझै तीव्र रूपमा बढिरहेको जनाएको छ।

नदीमा पानीको बहाव खतरनाक रूपमा बढेपछि महाशाखाले त्रिशूली नदीको तटीय तथा डुबान जोखिम क्षेत्रमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अपिल गरेको छ।

चीनको तिब्बततर्फबाट रसुवा हुँदै आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा जोखिम बढेको छ। बाढीको प्रभाव चितवनसम्म पर्न सक्ने चेतावनीपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

बाढी तथा विपद् प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार प्रभावित क्षेत्रमा विभिन्न युनिटबाट उद्धार टोली खटिएका छन्। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट र नं. १७ गण चितवनबाट सुरक्षाकर्मी परिचालन गरिएको छ।

उनीहरूले बाढी तथा डुबानमा परेका नागरिकको खोजी, उद्धार तथा सुरक्षित स्थानान्तरणको काम गरिरहेका छन्।

यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट उत्पन्न संकटबारे छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।

बैठकमा रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढी, तटीय क्षेत्रमा बढेको जोखिम तथा प्रभावित क्षेत्रमा उद्धार र राहतका विषयमा छलफल हुने बताइएको छ।

सरकारले बाढी प्रभावित क्षेत्रमा राज्यका सम्पूर्ण सुरक्षा निकाय तथा सरकारी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने तयारी गरेको छ। उद्धार, राहत तथा क्षति न्यूनीकरणका लागि आवश्यक थप रणनीति बैठकबाट तय हुने अपेक्षा गरिएको छ।

बुधबार बिहानदेखि आएको अप्रत्याशित बाढीले रसुवा र नुवाकोटमा क्षति पुर्‍याएपछि त्रिशूली नदी आसपासका क्षेत्रमा त्रास बढेको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।