August 20, 2026, Thursday
२०८३ भाद्र ४

सर्पदंशको जोखिम : झारफुकमा बितेको समयले बढाउँदैछ मृत्यु

धनगढी : सर्पले टोकेपछि अस्पताल पुग्न ढिलाइ गर्दा सुदूरपश्चिम प्रदेशमा सर्पदंशका बिरामीको ज्यान जाने जोखिम बढ्दै गएको छ।

सेती प्रादेशिक अस्पताल धनगढीमा मात्रै गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको साउनसम्म १४० जना सर्पदंशका बिरामी उपचारका लागि पुगेका छन्। तीमध्ये ६ जनाको मृत्यु भएको छ।

आर्थिक वर्ष २०८२/८३ मा १०९ जना सर्पदंशका बिरामी उपचारका लागि आएकोमा चार जनाको मृत्यु भएको थियो। चालु आर्थिक वर्षको साउनमा थप ३० जना अस्पताल पुगेका छन्। तीमध्ये दुई जनाको मृत्यु भयो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठका अनुसार सर्पले टोकेपछि तत्काल अस्पताल लैजानुको सट्टा झारफुक तथा घरेलु उपचारमा समय बिताउने प्रवृत्ति अझै चुनौती बनेको छ। साउनमा मृत्यु भएका दुईमध्ये एक जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको थियो।

गर्मी र वर्षायाममा सर्पदंशका घटना बढ्ने गरेका छन्। कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट बिरामी सेती प्रादेशिक अस्पताल आउने गरेका छन्।

अहिले भने उपचारमा आवश्यक औषधिको अभाव छैन। अस्पतालमा करिब ३५ जना बिरामीलाई पुग्ने औषधि मौज्दात रहेको श्रेष्ठले बताए।

अस्पतालले सर्पले टोकेमा झारफुक तथा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पुर्‍याउन आग्रह गरेको छ।