मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत, सुदूरपश्चिममा भट्ट नेतृत्वको सरकार बन्ने बाटो खुल्यो

धनगढी : सुदूरपश्चिम प्रदेशमा सत्ता फेरबदलको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएसँगै प्रदेश प्रमुख नजिर मियाँले राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम दिएको लिखित राजीनामा साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो।
राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।
नयाँ सरकार गठनका लागि साउन २९ गते शुक्रबार बिहान ११ बजेसम्मको समय तोकिएको छ। दाबी पेस गर्दा सम्बन्धित दलहरूको समर्थनसहित बहुमत पुग्ने आधारसमेत प्रस्तुत गर्नुपर्नेछ।
प्रदेश प्रमुखको आह्वानसँगै सुदूरपश्चिममा नयाँ सत्ता समीकरणअनुसार सरकार गठनको बाटो खुलेको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार नेकपाको नेतृत्वमा सरकार गठन गर्ने तयारी छ।
नेकपाका संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको चर्चा छ। सत्ता समीकरणले भट्टको नेतृत्वमा सरकार गठन गर्ने आधार तयार पारे पनि उनको नाममा पार्टीभित्रै पूर्ण सहमति जुटिसकेको छैन।
त्यसैले प्रदेश प्रमुखको आह्वानपछि अबको मुख्य प्रश्न सरकार कसको नेतृत्वमा बन्छ भन्ने मात्र होइन, भट्टको नाममा दलभित्रको असन्तुष्टि कसरी व्यवस्थापन हुन्छ र बहुमतको दाबी कुन आधारमा पेस हुन्छ भन्ने बनेको छ।
शाहको राजीनामाले एउटा सरकारको अध्याय टुंग्याए पनि नयाँ सरकार गठनसँगै सुदूरपश्चिमको सत्ता समीकरणभित्रको अर्को राजनीतिक परीक्षा सुरु भएको छ।





प्रतिकृया दिनुहोस्