August 24, 2026, Monday
२०८३ भाद्र ९

पाँच महिनापछि स्वदेश फर्किए देउवा, भने- ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा झन्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि बिहीबार स्वदेश फर्किएका छन्। सिंगापुरमा उपचार गराइरहेका देउवा दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

स्वदेश फर्किएलगत्तै देउवाले राजनीतिक सन्देशसहितको अपिल जारी गर्दै आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले आफू कुनै पद वा शक्ति प्राप्तिको आकांक्षाले नभई राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र युवा पुस्ताको भावनालाई सम्बोधन गर्न सक्रिय हुन स्वदेश फर्किएको बताएका छन्।

‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ,’ देउवाले अपिलमा लेखेका छन्।

देउवाले आफूलाई अब विनम्र सेवक’का रूपमा प्रस्तुत गर्दै सुन्ने, सिक्ने र समुन्नत मुलुक निर्माणको यात्रामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु– सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन,’ उनले भनेका छन्।

पाँच महिनापछि स्वदेश फर्किँदा आफू कृतज्ञताले भरिएको उल्लेख गर्दै देउवाले मुलुकमा देखिएका परिवर्तनका आकांक्षालाई आत्मसात् गर्दै अघि बढ्न आफू तयार रहेको बताएका छन्।

यसैबीच, देउवाले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको आरोप लगाएका छन्। ताजा जनमतबाट सत्तामा पुगेको सरकारले जनताको मतको सम्मान गर्न नसकेको र राजनीतिक आग्रह–पूर्वाग्रहमा केन्द्रित भएको उनको दाबी छ।

‘ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको मतलाई कदर गर्न सकेन भने लोकतन्त्रमा जनता नै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न सक्दैन,’ देउवाले अपिलमा लेखेका छन्।

उनको अपिलमा राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य–मान्यता र युवा पुस्ताको अपेक्षालाई केन्द्रमा राखेर अघि बढ्ने संकेत गरिएको छ। लामो उपचारपछि स्वदेश फर्किएलगत्तै देउवाले जारी गरेको राजनीतिक सन्देशलाई उनको आगामी सक्रियता र भूमिकाबारे महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

यस्तो छ उनको अपिल