सन्दीपको कप्तानीमा ओडिआई टोलीको घोषणा, एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौं : सन्दीप लामिछानेले ४ वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेट टोलीको कप्तानमा पुनरागमन गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले २६ वर्षिय सन्दीपलाई एक दिवसीय टिमको कप्तान चयन गरेको हो ।
क्यानले आज सन्दिप कप्तानीमा मलेसियामा हुने एसीसी पुरुष प्रिमियर कपको लागि १४ सदस्यीय ओडिआईको टोली घोषणा गरेको हो । नियमित कप्तान रोहित पौडेललाई जिम्मेवारीबाट हटाउँदै सन्दीपलाई कप्तान बनाइएको हो। योसँगै झन्डै ४ वर्षपछि रोहितको कप्तानी यात्राको अन्त्य भएको छ।
केही महिनाअघि उनलाई हटाएर दीपेन्द्र सिंह ऐरीलाई टि ट्वान्टी टोलीको कप्तान बनाइएको थियो। सन्दीपले यसअघि सन् २०२१ मा पहिलो पटक नेपाली टिमको कप्तान बनेका थिए। पछिल्लो पटक आइसिसी विश्वकप लिग टु अन्तर्गत दुई सिरिजमा नेपालको प्रदर्शन कमजोर रह्यो ।
सन्दीपको प्रदर्शन पनि कमजोर रहेको थियो। लगातार ३ खेलमा विकेट नलिएपछि उनी ड्रप भएका थिए। त्यसपछि उनलाई कप्तान बनाइएको छ।
साथै टोली परिवर्तन पनि गरिएको छ। नियमित खेलाडी ओपनर कुशल भुर्तेल, सोमपाल कामीसँगै नन्दन यादव र आरिफ शेखलाई ड्रप गरिएको छ। नन्दन चोटको कारण टोली बाहिर रहेका हुन्।
उनीहरूको स्थानमा सन्दीप जोरा, देव खनाल, बसिर अहमद र शेर मल्लले टोलीमा स्थान बनाएका छन्।
रोहितको कप्तानी यात्रामा अप्रत्याशित पूर्णविराम
नेपाली क्रिकेट इतिहासकै सफलमध्यका कप्तान रोहितकुमार पौडेलको कप्तानी यात्रामा अप्रत्याशित पूर्णविराम लागेको छ । नेपाललाई संकटपूर्ण अवस्थाबाट एकदिवसीय मान्यता जोगाउँदै विश्वकप छनोट र एसिया कपसम्म पुर्याएका रोहितलाई आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय कप्तानबाट हटाएको हो।
क्यानले आज एसीसी मेन्स प्रिमियर कपको टोली घोषणा गर्ने क्रममा रोहितको स्थानमा सन्दीप लामिछानेलाई पुनः एकदिवसीय टोलीको कप्तान नियुक्त गरेको हो । केही महिनाअघि टी–२० अन्तर्राष्ट्रिय कप्तानीबाट हटाइएका रोहित अब राष्ट्रिय टोलीको कुनै पनि फर्म्याटको नेतृत्वमा रहने छैनन् ।
चार वर्षअघि सन्दीपविरुद्ध बलात्कार आरोपमा मुद्दा दर्ता भएपछि क्यानले उनलाई कप्तानबाट हटाएको थियो । त्यसपछि रोहितले नेपाली टोलीको नेतृत्व सम्हाले । सन् २०२२ नोभेम्बर १४ मा यूएईविरुद्धको खेलमा उनले पहिलो पटक कप्तानी गरेका थिए । स्कटल्यान्डमा गत महिना सम्पन्न शृंखला भने कप्तानका रूपमा उनको अन्तिम शृंखला बन्न पुग्यो ।
युवा उमेरमै कप्तानीको जिम्मेवारी पाएका रोहितले करिब चार वर्षको अवधिमा नेपाली क्रिकेटका लागि एकपछि अर्को ऐतिहासिक उपलब्धि दिलाए । तर सफलताको बलियो आधार तयार पारेका रोहितको नेतृत्वले पछिल्लो समयको खराब लयका कारण अप्रत्याशित अन्त्यको सामना गरेको छ ।





प्रतिकृया दिनुहोस्