October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

कांग्रेस संस्थापनइतर पक्षले भेला नरोक्ने, पत्रकार सम्मेलन गर्दै

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहले यही साउन २९ देखि ३१ गतेसम्मलाई बोलाएको राष्ट्रिय भेला नरोकिने जनाएको छ ।

बिहीबार सर्वोच्च अदालतले तत्कालीन सभापति शेरबहादुर देउवाले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै पुनरवलोकन गर्ने निर्णय गरेको छ । बिहीबारको आदेशपछि कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा पुनः सुरुदेखि नै सुनुवाइ अघि बढ्ने भएको छ ।

संस्थापनइतर समूहका नेता मीन विश्वकर्माले सर्वोच्चको आदेश स्वागतयोग्य भएको बताए । यसले कांग्रेसको एकता र पीडित पक्षले न्याय पाउने आधार प्रारम्भ भएको उनले जनाएका छन् ।

कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन गर्दैछ । राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले पत्रकार सम्मेलन गर्ने प्रचार-प्रसार समितिका संयोजक समेत रहेका विश्वकर्माले बताए ।

इतर समूहले पूर्वमहामन्त्री कोइरालाको संयोजकत्वमा गठित ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । मूल आयोजक समितिले भेलाको तयारीका लागि ३२ वटा समितिहरू गठन गरेर संयोजक चयन गरेको छ ।

इतर समूहका अनुसार पूर्वउपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव तयारी समिति, पूर्व सहमहामन्त्री उमाकान्त चौधरीको संयोजकत्वमा सांठनिक प्रस्ताव तयारी समिति गठन भएको छ ।

यस्तै समसामयिक प्रस्ताव तयारी समितिको संयोजक एनपी साउद, विधान समिति संयोजकमा रमेश लेखक, आर्थिक नीति समिति संयोजकमा पूर्वप्रवक्ता डा. प्रकाशशरण महतलाई चयन गरिएको छ ।

प्रचार–प्रसार समिति संयोजनको जिम्मा मीन विश्वकर्मा, आर्थिक व्यवस्थापन समितिको जिम्मा दीपक खड्का, प्रशासन समन्वय समितिको जिम्मा मोहनबहादुर बस्नेत र भोजन व्यवस्था समितिको जिम्मा पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले पाएका छन् ।

त्यसैगरी स्वयंसेवक परिचालन समितिमा जितजंग बस्नेत, सांस्कृतिक समितिमा विद्या तिमिल्सिना, मञ्च तथा हल व्यवस्थापन समितिमा राजु श्रेष्ठ, स्वास्थ्य समितिमा उमेशजंग रायमाझी र विदेशस्थित नेपाली जनसम्पर्क समन्वय समितिमा किरण पौडेललाई संयोजक बनाइएको छ ।

ट्रेड युनियन समन्वय समितिमा हरिशरण नेपाली, भ्रातृ संघ समन्वय समितिमा गोविन्दबहादुर शाह, शुभेच्छुक संस्था समन्वय समितिमा ईश्वरी न्यौपाने, आदिवासी जनजाति समन्वय समितिमा गणेश लामा, दलित समुदाय समन्वय समितिमा नृप वड संयोजक छन् ।

उषा राउतलाई महिला समन्वय समिति, कुन्दनराज काफ्लेलाई युवा विद्यार्थी परिचालन समिति, भीमसेनदास प्रधानलाई पेसागत बुद्धिजीवी परिचालन समितिको संयोजक बनाइएको छ ।

प्रदेश समन्वय समितिहरू

कोशी प्रदेश : गोमा भट्टराई
मधेश प्रदेश : पदमनारायण चौधरी
बागमती प्रदेश : शिव हुमागाईँ
गण्डकी प्रदेश : गुरु बराल
लुम्बिनी प्रदेश : गेहेन्द्र गिरी
कर्णाली प्रदेश : सीता राना
सुदूरपश्चिम प्रदेश : वीरबहादुर बलायर

अन्य समन्वय समितिहरू

वैदेशिक रोजगार व्यवसायी समन्वय समिति : सीता देवकोटा
जिल्ला काठमाडौं सम्पर्क समन्वय समिति : मानबहादुर नेपाली
सचिवालय समन्वय समिति : दीपकप्रसाद कुइँकेल