October 26, 2026, Monday
२०८३ कार्तिक ११

ब्रोड पीक हिमाल आरोहणका क्रममा दिवङ्गत नेपाली पर्वतारोहीप्रति धनगढीमा श्रद्धाञ्जली अर्पण

धनगढी : पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा वीरगति प्राप्त गरेका नेपाली पर्वतारोहीहरूप्रति धनगढीमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा मंगलबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो ।

पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा वीरगति प्राप्त गरेका नेपाली पर्वतारोही पूर्वबहादुर गुरुङ, युक्त किलिपेम्बा शेर्पा, निमा शेर्पा, ग्याल्जे शेर्पा र नवाङ थिङ्गु शेर्पालगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदमबिक्रम सिंहले जानकारी दिएका हुन ।

श्रद्धाञ्जली कार्यक्रममा नेपालका विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को साहसिक योगदानको पनि सम्मानपूर्वक स्मरण गरिएको थियो। सहभागीहरूले दिवङ्गत आरोहीहरूले नेपालको पर्वतारोहण तथा पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पुर्‍याएको अतुलनीय योगदान, साहस, समर्पण र प्रेरणाको उच्च सम्मान गर्दै उहाँहरूको आत्माको चिरशान्तिको कामना गरेका थिए ।

कार्यक्रममा पर्यटन व्यवसायी, पर्वतारोहणप्रेमी, खेलप्रेमी, शुभेच्छुक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नाटा सुदूरपश्चिम प्रदेशको आयोजनामा गरिएको कार्यक्रममा बुद्ध एयर धनगढी, होटल व्यवसायी संघ कैलाली सहितको सहभागितामा कार्यक्रम भएको थियो ।