July 29, 2026, Wednesday
२०८३ श्रावण १३

प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ- प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनाव समाधानका लागि प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार बोलाएको सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले संवेदनशील अवस्थामा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्नुपर्ने बताए ।

उनको सचिवालयका अनुसार प्रचण्डले बैठक आयोजना गरेकोमा रास्वपा सभापति लामिछानेलाई धन्यवादसमेत दिएका छन्।

‘विगतमा भूकम्प, बाढी-पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक छ।’

उनले राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा रास्वपा नेतृत्वको सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको भन्दै प्रश्न उठाए। सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील हुनुपर्ने उनको भनाइ थियो।

प्रचण्डले संसद्‌मा सरकारको प्रस्तुति पनि अपेक्षाअनुसार प्रभावकारी नदेखिएको बताएका छन्। ‘बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन,’ उनले भने, ‘संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिन्छ।’

उनले आफ्नो पार्टीले सुनसरी घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आन्तरिक निर्देशनसमेत दिएको जानकारी गराए।

घटनास्थलमा स्थानीय व्यक्तिसँगै बाहिरबाट वातावरण भड्काउन खोज्ने तत्त्वसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहनुपर्ने प्रचण्डको भनाइ छ।

प्रचण्डले सरकार, राजनीतिक दल र सरोकारवाला पक्षलाई सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट रूपमा अगाडि बढ्न आग्रह गरेका छन्।

प्रचण्डले सर्वदलीय बैठकमा के भने ?

सुनसरीमा देखिएको तनावप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौं। यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्छ।

विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौं। आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता छ। तर राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्ने गम्भीर प्रश्न उठेको छ। आज रास्वपा सभापति रबि लामिछाने जिले बैठक राख्नु भएकोमा उहाँलाई धन्यवाद दिन चाहन्छु ।

यस्तो अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्छ। प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्छ। संसद्भित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन।

बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन। संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिन्छ। हाम्रो पार्टीले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक आन्तरिक निर्देशनसमेत दिएको छ। घटनास्थलमा स्थानीय व्यक्तिमात्र होइन, बाहिरी रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहन आवश्यक छ।

यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो। घटनाको निस्पछ छान्बिन गरि दोषी माथी कार्बाहीको हुनु पर्छ । सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट रूपमा अघि बढ्नुपर्छ।