July 29, 2026, Wednesday
२०८३ श्रावण १४

गेटामा चालू शैक्षिक सत्रदेखि एमबीबीएस पढाइ सुरू नभए म पनि अनशन बस्छु : मेयर गोपी हमाल

धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले गेटामा चालू शैक्षिक सत्रदेखि एमबीबीएस पढाइ सुरू नभए आफु पनि अनशन बस्ने बताएका छन् । सोमबार सामाजिक संजाल फेसबुकमार्फत मेयर हमालले यस्तो बताएका हुन ।

मेयर हमालले चालू शैक्षिक सत्रदेखि कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन/अध्यापन सुरू नभए आफू पनि अनशनमा बस्ने घोषणा गरे।

सुदूरपश्चिमका नागरिकले वर्षौँदेखि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँचबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै सरकारले अब थप ढिलाइ गर्न नहुने बताएका छन् ।

उनले गेटामा यही शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन सुरु गर्नुपर्ने र ३०० शय्याको अस्पताल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् । सरकारले यी दुवै काम पूरा गर्न नसके आफू पनि अनशनमा बस्न तयार रहेको र आवश्यक परे आन्दोलनको नेतृत्वसमेत गर्ने उद्घोष गरे ।

गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विषयलाई लिएर प्राध्यापक डा. गोविन्द केसी विगत बिहीबारदेखि अनशनमा छन्। उनले विश्वविद्यालयका हालै नियुक्त उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने, विश्वविद्यालयलाई पारदर्शी र विधिसम्मत ढंगले सञ्चालन गर्नुपर्ने, साथै गेटामा तत्काल एमबीबीएस पढाइ र ३०० शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने माग राख्दै आएका छन् ।

डा. गोविन्द केसीका माग सम्बोधनका विषयमा सरकारी वार्ता टोली र डा. केसी पक्षबीच वार्ता भैरहेको छ। आज हुने वार्ताबाट बाँकी विवाद टुंग्याएर सहमति हुने अपेक्षा गरिएको छ।