July 22, 2026, Wednesday
२०८३ श्रावण ६

बिपी स्मृतिमा कांग्रेसको ग्रीन रन प्रतियोगिता, गर्‍यो १० लाख रुपैयाँको कल्याण कोषको घोषणा

काठमाडौँ : संस्थापक नेता बिपी कोइरालाको स्मृति दिवसमा आज नेपाली कांग्रेसले ग्रीन रन प्रतियोगिता गरेको छ।

ललितपुरको युएन पार्कबाट सुरू भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई सभापति गगन थापाले नगद पुरस्कार प्रदान गरेका छन्।

प्रतियोगिताका लागि तय गरिएको पाँच किलोमिटरको धावन मार्ग १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा पूरा गरी मुकेशबहादुर पाल प्रथम भए। उनलाई सभापति थापाले ५० हजार नगद पुरस्कार प्रदान गरेका थिए।

दोस्रो नरेन्द्र सिंह रावल भए भने उनले २५ हजार पुरस्कार पाए। तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार प्रदान गरिएको छ भने चौथो भएका गणेश सिंहलाई १२ हजार, पाँचौ अमृत ठकुरीलाई १० हजार र छैटौं नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको कांग्रेसले जनाएको छ।

प्रतियोगितामा सहभागिताका लागि झण्डै १४ सय जनाले नाम दर्ता गराएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। 

प्रतियोगितामा सहभागी महिला प्रतियोगीहरूले धावन मार्ग छोडेर दौडेकाले उनीहरूलाई फेरि प्रतिस्पर्धा गराइने भएको छ। ग्रीन रन प्रतियोगितामा सभापति थापासमेत प्रतियोगी थिए।

ग्रीन रान प्रतियोगितापछि जाउलाखेलमा जलवायु परिवर्तनसम्बन्धी विज्ञहरूका बीचमा छलफल कार्यक्रम भएको थियो।

उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय प्राथमिकता, नीतिगत व्यवस्था, सचेतना र सतर्कताको आवश्यकता रहेकोमा जोड दिइएको थियो।

प्रतियोगिता आयोजना गरेर जलवायु परिवर्तनका बारेमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न समेत लागेको सभापति थापाले बताए।

‘अहिले हामी जलवायु परिवर्तनको बारेमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न पनि यहाँ उभिएका छौं। यसका बारेमा हामी बृहत कार्यक्रमको तयारी गरेका छौं,’ उनले भने।

जंगल, जमिन लगायतका प्राकृतिक स्रोत साधनहरूलाई संरक्षण गर्नुपर्ने र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा बिपीले त्यतिबेला  नै ल्याएको सभापति थापाले स्मरण गरेका थिए।

सो अवसरमा जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो।

सबै कार्यक्रममा सहभागीहरूलाई विभिन्न जातका विरूवा समेत वितरण गरिएको थियो। बिरुवा वितरण कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी रहने कांग्रेसले जनाएको छ। 

कल्याण कोषको घोषणा

कांग्रेसले आजै मानव सहायता कल्याण कोष स्थापनाको घोषणा पनि गरेको छ। कोषको घोषणा गर्दै सभापति गगन थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकाहरूलाई सहयोग गरिने जानकारी दिए।

कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट सङ्कलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने पनि उनले बताए।

कोषका बारेमा विस्तृत जानकारी र पार्टीको अन्य राजनीतिक विषय तथा अभियानका बारेमा बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा घोषणा गरिने उनले बताए।

कांग्रेसले भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा बिपी स्मृति दिवसकै अवसरमा कार्यक्रम आयोजना गरेको छ।