डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु

डोटी मंसिर ६(ई-रैवार)
डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु भएको छ । विहिबारबाट दिपायलमा सो चलचित्रको छायाकंन शुरु भएको हो ।
सिएस फिल्मस् प्राली धनगढीको व्यानरमा निर्माण भईरहेको यो चलचित्रको निर्माता एवम् अभिनेता विनोद बोहरा ‘बोगटानी किङ्ग’ छन् । निर्देशकमा बाबु थिङ, कार्यकारी निर्माता राज पाठक रहेका छन् । चलचित्रम अभिनेत्रीहरु एलिषा चाड र मनिषा चाडको अभिनय छ । यस्तै यादब गिरी, नरेन्द्र खड्का, तेजा ऐर, मीना सोब, सौगात ओझा, सुरेन्द्र संगम लगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्रको नामाकरण र कथावस्तु दिपायलकै सेरोफेरोमा आधारित रहेर तयार पारिएको निर्माता÷अभिनेता बोहराले जनाएका छन् । भगवान श्रीरामको पुर्वज राजा दीलीपले पुजा गर्ने गाई ‘नन्दिनी’का नामबाट चलचित्रको नामाकरण गरिएको उनले बताए ।
परापूर्व कालमा राजा दीलीपले गोलोकबाट नन्दिनी गाई ल्याएर दिपायलमा तपस्या गरेको किम्बदन्ती छ । सो गाईद्वारा नै दुधको धारा दिइरहेको ठाँउमा जोतिलिङ्ग भेटिएको र जसको पूजा, आराधना गरी तपस्या गर्दा राजा दीलीपले मुक्ती पाएको पौराणिक मान्यता छ । सोही ठाउँमा ‘दिल्पेश्वर मठ’ बनेको छ । जसका नामबाटै दिपायलको नामाकरण भएको मानिन्छ । सोही मठमा अहिले सयौ वर्ष पुरानो नन्दिनी गाईको सिङ र भगवान श्रीरामको ‘खराउ’(चप्पल) सुरक्षित छ ।
सोही नन्दिनी गाईको सिङलाई आधार बनाएर कथाबस्तु तयार पारी चलचित्र निर्माण हुनलागेको निर्माता बोहराले बताए । ‘चलचित्रको कथा त्यसै सिङको वरीपरी घुमाएका छौ,’ उनले भने,‘यसको उद्देश्य भनेको यहाँको ऐतिहासिक पक्षलाई ध्यान दिएर दिपायलको प्रचारप्रसार गर्ने हो ।’
चलचित्रको ६० प्रतिशतभन्दा बढी छायाकंन दिपायल क्षेत्रमा रहने जनाईएको छ । त्यसबाहेक, शैलेश्वरी मन्दिर, धनगढी, जोरायल र खप्तड क्षेत्रमा पनि छायाकंन हुने निर्देशक थिङले बताए ।
नन्दी चलचित्रको टिमलाई बिहिबार डोटी उद्योग वाणिज्य संघले दिपायलका स्वागत समेत गरेको छ ।





प्रतिकृया दिनुहोस्