July 12, 2026, Sunday
२०८३ असार २८

बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डिएसपीलाई सोधपुछ गर्न बोलाइयो जिल्ला

धनगढी : कैलालीको सुखडमा कार्यरत प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बोलाइएको छ। बालेनको पुलिस होइन, नेपाल पुलिस हुँ, भन्ने अभिव्यक्ति दिएपछि डिएसपी चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको हो।

डिएसपी चौधरी इलाका प्रहरी कार्याय सुखडका प्रमुख हुन्। उनले दिएको अभिव्यक्तिबारे सोधपुछ गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्ष (एसपी) नरेन्द्र चन्दले जानकारी दिएका हुन।

डिएसपी चौधरीलाई अर्कै सन्दर्भमा बोलाइएको तर अहिले आएका विषयमा पनि सोधपुछ हुने एसपी चन्दले बताए। ‘अर्कै सन्दर्भमा सोधपुछ गर्न बोलाइएको हो। तर यो विषय पनि आएकाले यसमा पनि सोधपुछ गर्छौं,’ उनले भने।

अरू विषयवस्तु भने आन्तरिक रहेको उनले बताए। घोडाघोडी नगरपालिका–५ को दरखमा लागुऔषधसम्बन्धी सचेतनामुलक कार्यक्रममा चौधरीले सो अभिव्यक्ति दिएका थिए।

‘हामी बालेनको पुलिस पनि होइन, हामी नेपाल पुलिस हो। अन्याय अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाल पुलिस हो। र केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो। त्यसकारण हामी नेपाल पुलिस हो,’ उनले भनेका थिए।

उनले आफूहरू चुनिएर भन्दा छानिएर आएको पनि बताएका थिए। ‘हामी सेलेक्टेड हौं। नट इलेक्टेड। भोट हालेर टिका लगाएर आएका हैनौं,’ त्यतिबेला उनले भनेका थिए।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कुनै पनि राष्ट्रसेवक कर्मचारीले पेशागत मर्यादा विपरीत व्यक्ति लक्षित टिप्पणी गर्न नहुने बताए। ‘हामी राष्ट्र सेवक कर्मचारी समयअनुसार चल्न सक्नु पर्छ,’ उनले भने, ‘उच्च व्यावसायिकता प्रदर्शन गर्न जरुरी हुन्छ ।’

विषय वा प्रसंगभन्दा बाहिर गइ बोलेको कुरा सामाजिक संजालमा चर्चाको बिषय बनेपछि माथिल्लो निकायले बोलाउनु, सोधपुछ गर्नु र भविष्यका लागि सजग गराउनुलाई अन्यथा मान्न नहुने पनि प्रजिअ रेग्मीको भनाइ थियो।