July 5, 2026, Sunday
२०८३ असार २१

सरकार विधि र प्रक्रिया भन्दा कानुन विपरीतका काम गर्न उद्धत देखियो : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार विधि र प्रक्रिया भन्दा कानुन विपरीतका काम गर्न उद्धत रहेको बताएका छन् । सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित समीक्षात्मक कार्यक्रममा धारणा राख्दै सभापति थापाले यस्तो बताउका हुन ।

सरकारका १०० दिनबारे समीक्षात्मक कार्यक्रममा सभापति थापाले वालेन्द्र शाह नेतृत्वको सरकारले विधि र प्रक्रिया भन्दा परिणाम दिन्छु भन्दै कानुन विपरीतका काम गर्न उद्धत रहेको बताउदैं २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तै काम गर्न थालेको आरोप समेत लगाए।

‘विधि र प्रक्रिया केही होइन, परिणाम दिन्छु भनेर सरकार हिँडिरहेको छ,’ थापाले भने, ‘यस्तो अभ्यास हामीले विगतमा पनि देखेको हो, नेकपाको सरकार भन्दा अहिलेको सरकार फरक देखिएन ।’

उनले यस विषयमा सुकुमबासी बस्ती उठाउने विषयलाई उदाहरण दिए । कानुन बनाएर भूमिहीनको समस्या समाधान गर्न सकिने भए पनि सामाजिक सञ्जालमा वाहवाही पाउन पहिला घर भत्काइदिएको थापाले बताए ।  

सभापति थापाले भने, ‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ, त्यसैमा लागेको छ। भूमिहिनहरूको समस्या कानुन बनाएर समाधान गरेको भए सामाजिक सञ्जालमा लाइक चाहिँ आउँदैन्थ्यो, त्यसैले सुकुम्बासी बस्तीमा डोजर चलाइयो।’

सभापति थापाले बालुवाटारबाट भन्दा सिंहदरबारबाट शासन गरेको भन्दै उनले प्रधानमन्त्री शाहको प्रशंसा गरे ।

‘यसपालि सिंहदरबार र बालुवाटारमा धेरै फरक देखिन्छ, सिंहदरबारमा बसेर प्रधानमन्त्रीको जुन शासकीय जिम्मेवारी छ, त्यो शासकीय जिम्मेवारी नै प्राथिमकतामा परेको छ, प्रधानमन्त्रीको फोकस शासकीय काममै छ, यो हेर्दा सामान्य देखिए पनि यो सकारात्मक छ र यसले निरन्तरता पाओस्,’ सभापति थापाले भने।

प्रधानमन्त्री शाहले निवास बालुवाटारमा छलफल तथा मन्त्रिपरिषद बैठकहरू राखेका छैनन्। प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाटै कामकाज गर्दै आएका छन्। विगतलाई तुलना गरी हेर्दा यो विषय भने राम्रो रहेको सभापति थापाको भनाइ छ। विगतमा प्रधानमन्त्रीहरूले बालुवाटारमा बसेर प्रधानमन्त्रीभन्दा दलका नेताका रूपमा काम गर्ने गरेको उनको भनाइ थियो।