सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह परे ट्राफिक कारबाहीमा

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् । आफ्नो निवास परिसरमा शाहले बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा ट्राफिक कारबाहीमा परेका हुन् ।
हेलमेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोली मुख्यमन्त्री निवासमै पुगेर चीट काटेका छन् । शाहलाई थमाइएको चीटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ ।
बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा मुख्यमन्त्री शाहलाई चिट काटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर रेशम आचार्यले बताए । उनले भने, ‘हेलमेट नलगाएको कसुरमा उहाँलाई चिट काटेका छौँ ।’
मुख्यमन्त्री शाहले सो कसुरमा ५ सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ । धनगढीस्थित मुख्यमन्त्रीको निवासमा शाहले मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
पत्रकारमाझ मुख्यमन्त्री शाहले आफूले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गर्दै नियमअनुसार कारबाही गर्न स्वयं ट्राफिक प्रहरीलाई आग्रह गरेको बताए । उनले भने, ‘म ट्राफिक प्रहरीलाई धन्यवाद दिन्छु । कानुन सबैका लागि समान हुनुपर्छ । ठूला व्यक्तिलाई कानुन नलाग्ने भन्ने हुँदैन । कानुनले गरेको व्यवस्था अनुसार सबैले कारबाही भोग्नुपर्छ ।’
पद वा हैसियतका आधारमा कानुन कार्यान्वयनमा कुनै भेदभाव हुन नहुने उल्लेख गर्दै ट्राफिक नियमको पालना गर्न सबै नागरिकलाई शाहले आग्रह गरे ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने व्यवस्था छ । ऐनअनुसार हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइए पहिलो पटक ५०० रुपैयाँ, दोस्रो पटक १,००० रुपैयाँ र त्यसपछि १,५०० रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटकबाट शाहले हेल्मेटबिना बाइक चलाएको भिडिओ सार्वजनिक गरेका थिए । केही समययता दिनभर वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री साँझ मोटरसाइकल चलाएको दृश्यले टिकाटिप्पणी बढेको थियो ।





प्रतिकृया दिनुहोस्