कैलाली-कञ्चनपुरमा खैरो हेरोइनसहित ८ जना युवा पक्राउ

धनगढी : कैलाली-कञ्चनपुरमा अवैध लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले शुक्रबार पक्राउ परेका सबै युवा २८ वर्षमुनिका रहेको जानकारी दिएको छ ।
प्रहरीले कैलाली र कञ्चनपुरका फरक–फरक स्थानबाट आठ जनालाई लागूऔषध खैरो हेरोइन सहित शुक्रबार पक्राउ गरेको हो ।
मिडिया समन्वय शाखाका अनुसार कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेबाट खैरो हेरोइनसहित १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले एक सय ९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
उता धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट एक ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित तीन जना प्रहरी परेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–७ का १९ वर्षीय भोजराज ओझा, १९ वर्षीय अर्जुन नेपाली र १९ वर्षीय बिष्णु खत्री रहेका छन् ।
कैलालीकै टिकापुर नगरपालिका–९ खक्रौलाबाट चार सय मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–८ का २७ वर्षीय अरुण चौधरी र २७ वर्षकै धनप्रसाद अधिकारी रहेका छन् ।
यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका २८ वर्षीय सुरेन्द्र राना पनि खैरो हेरोइनसहित पक्राउ परेका छन् । रानाको साथबाट पाँच सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको सुडा प्रहरी चौकीले जनाएको छ ।
वेदकोट नगरपालिकाकै ७ नम्बर वडामा पर्ने मन्दिरपुरका २६ वर्षीय सुनिल डगौरा पनि खैरो हेरोइनसहित पक्राउ परेका छन् । सुडा प्रहरीले उनलाई नौ सय मिलिग्राम खैरो हेरोइन र नगद आठ हजार ४४५ रूपैयाँसहित पक्राउ गरिएको जनाएको छ ।





प्रतिकृया दिनुहोस्