June 29, 2026, Monday
२०८३ असार १५

देशैभर फैलिँदै मनसुन, प्राधिरकणले भन्यो- सतर्क रहनू

काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशैभर मनसुन फैलिँन लागेको बताएको छ ।

मौसम महाशाखाले आज (सोमबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार मनसुन पुग्न बाँकी रहेका गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण स्थानमा पनि मनसुनी वायु सोमबार वा मंगलबारसम्म विस्तार हुने सम्भावना देखिएको हो। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारी वर्षा तथा एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ ।

मनसुनी गतिविधि बढेका बेला अकस्मात बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिमसमेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरेको हो।

प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्नासाथ उँचो र सुरक्षित स्थानमा जान तथा तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ।

यस्तै जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडरलगायत साधन तयारी अवस्थामा राख्न तथा पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणको आग्रह छ । वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपदमा मद्दत माग्न ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल, नेपालको १११४ हटलाइन नम्बर मोबाइलमा ‘सेभ’ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न अनुरोध गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।

हाल कोसी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भाग, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी भागका थोरै स्थानसम्म मात्र मनसुनी वायुको प्रभाव छ। देशका बाँकी स्थानमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। 

मौसम महाशाखाका अनुसार देशभर साधारणतया बादल बादल लागेको छ। लुम्बिनी प्रदेशका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका केही स्थान, कोसी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

आज यस्तो छ वर्षाको सम्भावना

२०८३ असार १५ गते (सोमबार) दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थानमा,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको तथा देशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी  र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। 

रातिः देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थान, मधेस प्रदेश तथा बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।कोसी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।