July 2, 2026, Thursday
२०८३ असार १८

कैलारी गाउँपालिकाका अध्यक्ष चौधरीको दावी- निर्वाचनमा गरेका ८० प्रतिशत बाचा पुरा

धनगढी : कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले आफूले निर्वाचनमा गरेका वाचा ८० प्रतिशत पुरा भएको दावी गरेका छन् । कैलालीको कैलारी गाउँपालिकामा आयोजित नमुना सार्वजनिक कार्यक्रममा उनले यस्तो दावी गरेका हुन ।

कैलारी गाउँपालिकाको आयोजना र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटीको सहकार्यमा बुधवार सम्पन्न कार्यक्रममा अध्यक्ष चौधरीले आफूले निर्वाचनमा गरेका वाचा ८० प्रतिशत पुरा भएको बताउँदै बाँकी २० प्रतिशत काम आगामी आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको जनाएका हुन ।

अध्यक्ष चौधरीले चालु आर्थिक बर्षमा अघि सारिएका कार्यक्रम तथा योजनाहरुको काम पनि करिब ८० प्रतिशत भइसकेको बताए । आर्थिक वर्ष २०८२/०८३ मा पालिकाबाट प्रवाह भएका सेवा तथा विकास निर्माणका गतिविधिहरु, सुशासन कायम गर्न, कर्मचारी र जनप्रतिनिधिलाई उत्तरदायी बनाउने उद्देश्यले नमुना सार्वजनिक सुनुवाई गरिएको थियो ।

कार्यक्रममा अधिकांश सहभागीहरुले कार्यालयको सुशासन, विकासका गतिविधिहरु, न्यायीक प्रक्रिया, भौतिक विकासका सवालमा प्रश्न उठान गरेका थिए । प्रश्नहरुको जवाफ दिँदै गाउँपालिका अध्यक्ष चौधरीले संघ र प्रदेश सरकारसँग समन्वयगरी सडक निर्माण, शिक्षा, कृषि, सिँचाइ र नदी कटान नियन्त्रण लगायतका योजनामा समन्वय भइरहेको बताए ।

यस्तै कैलारी गाउँपालिकाका नेकपा एमालेका नेता गोरबहादुर बिकले अन्य विकास भए पनि वडा नम्बर ६ मा बाटो, पुल, हसुलियाहुँदै बढैपुर जाने बाटो निर्माणमा जोड दिन गरेको प्रश्नको उत्तर दिँदै पालिका अध्यक्ष चौधरीले स्थानीय बजेटबाट सम्भव नभएका कारण संघ र प्रदेश सरकारसँग समन्वय भइरहेको बताए ।

विभिन्न प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष चौधरी स्थानीय इच्छा आकांक्षाहरु बढी भएको तर बजेट कम भएका कारण ठूला योजनाहरु कार्यान्वयन गर्न नसकिएको बताए । उनले किसानलाई लक्षित काम भने पालिकामा धेरै भएको उल्लेख गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक भगवती कुमारी चौधरीले समस्यामा परेर पालिकामा न्याय माग्न आएका सबैले न्याय पाउने गरेको बताइन् ।

योजना अनुगमन र सुशासनको समेत आफ्नो भूमिका भएको बताउँदै उपाध्यक्ष चौधरीले भूमिका अनुसार आफू गाउँपालिकामा क्रियाशील रहेको उनको भनाइ छ । विकास निर्माणका काममा ढिलासुस्ती, गुणस्तरहीन कार्यलाई आफूले निरुत्साहित गर्दै आएको समेत उपाध्यक्ष चौधरीले बताइन् ।

कार्यक्रमका सहभागी झनक खनालले सार्वजनिक सुनुवाईमा सूचना प्रवाह नभएको गुनासो पोखिरहँदा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीले पालिकाको आधिकारिक बेभसाइट र सूचनापाटी, वडाअध्यक्ष, जनप्रतिनिधिमार्फत सूचना प्रवाह गरेको बताए । उनले पालिकाले गरेका प्रगति विवरण समेत सार्वजनिक गरेका थिए । पालिका सुशासन, पारदर्शीता र जनमैत्री ढंगबाट अगाडि बढेको बताए ।

कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत, दलबहादुर धामीले कार्यक्रमका सहभागीले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

कार्यक्रममा वडा नम्बर १ देखि ९ सम्मका वडाअध्यक्षहरु, कार्यालयका विषयगत शाखाका प्रमुखहरु, कार्यपालिका सदस्य, राजनीतिक दल, नागरिक समाज, शिक्षक, वुद्धिजिवी, सुरक्षाकर्मी, सर्वसाधारणलगायत एक सय १८ जनाको सक्रिय सहभागिता रहेको थियो ।

करिब चार घण्टा चलेको सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकांश सहभागीहरुले जनचासोका विषयमा प्रश्न गरेका थिए ।