May 17, 2026, Sunday
२०८३ जेष्ठ ३

‘बालेन शाहको नियत राम्रो छैन, समर्थन गर्नुपर्ने कुनै कारण छैन’

सुर्खेत : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले अहिले देशको राजनीति र सरकार सही ट्र्याकमा अगाडि नबढेको बताएका छन् । आइतबार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने बताए । 

‘सुकुमबासीहरूको समस्या समाधान भएको छैन, त्यो अहिले पनि गम्भीर प्रकृतिकै समस्याको रूपमा छँदैछ,’ उनले भने, ‘ट्रेड युनियनसँग सम्बन्धित, विद्यार्थीसँग सम्बन्धित विषयहरू पनि गम्भीर छँदै छन् । संविधान संशोधनको निम्ति भनेर सरकारले जो बहस पत्र तयार पार्ने भनेको छ, त्यो पनि त्यति पारदर्शी तरिकाले अगाडि आएको छैन । त्यो पनि आफैँमा एउटा गम्भीर छलफलको विषय बनिराख्या छ ।’

अध्यादेश ल्याउनेदेखि सबै हिसाबले वर्तमान बालेन शाहको नियत राम्रो नदेखिएको प्रचण्डको भनाइ छ । ‘आफैँले सदन बोलाउने, आफ्नो दुई–तिहाइ झन्डै छ, नियमित प्रक्रियाबाटै विधेयकहरू ल्याउन सकिन्छ, त्यो बाटो छोडेर सदनलाई छलेर अध्यादेशको बाटो जाने लाजमर्दो कुरा पनि हो,’ उनले अगाडि भने, ‘त्यसको पनि हामीले प्रतिवाद गरिनै राखेका छौँ ।’

उनले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनको निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढङ्गले सहयोग गर्ने  बताए। सुरुमा मोटामोटी कयौँ कुरा ठिकै छन् पनि भनेको हो । तर जब सरकारका अनेक गतिविधि अगाडि बढ्न थाले, समर्थन गर्न सकिने केही पनि नदेखिएको उनको भनाइ छ । 

‘बरु विरोध गर्नुपर्ने, प्रतिवाद गर्नुपर्ने, जनताको तहबाट पनि आवाज उठाउनुपर्ने धेरै कुरा देखिन गएका छन्,’ प्रचण्डले थप भने, ‘मैले त सदनमा सरकारलाई अलिकति सतर्क हुनको निम्ति सुझाव दिएको छु ।’

सरकारले यी कुरालाई गम्भीर रूपमा नलिए सबैतिरबाट प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

पत्रकार सम्मेलनमा नेकपा संयोजक प्रचण्डले प्रदेश सरकारहरू फेरबदलको विषयमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सर्वदलीय सहमतिको कुरा अघि सारेको बताए । सर्वदलीय सहमतिमा प्रदेश सरकारहरू पुनर्गठन नभए आफूहरूलाई सरकारमा जान कुनै हतारो नभएको बताए ।

‘प्रमुख पार्टीहरूले अब प्रदेशका सरकारहरू हामी मिलेर बनाऔँ भनेर कतै कांग्रेसको तर्फबाट, कतै नेकपा एमालेको तर्फबाट प्रस्ताव हामीकहाँ आउने गरेको थियो, आइरहेको पनि छ,’ उनले भने, ‘हिजो पूर्णबहादुर खड्कासँग पनि एकछिन भेट भएको थियो ।’

तर नेकपाको संयोजकको हैसियतले आफूले त्यसलाई इन्कार गरेको उनले बताए । हिले यो वा त्योसँग मिलेर सरकार बनाउने खेलमा आफू नभएको पनि प्रचण्डले प्रस्ट पारे ।