April 27, 2026, Monday
२०८३ बैशाख १४

सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै

मुलुकको सुदूरपश्चिम क्षेत्रमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना हुनु शैक्षिक संरचना थपिनु मात्र होइन यो नेपालको स्वास्थ्य प्रणालीलाई रूपान्तरण एवं सहयोग गर्ने बलियो ऐतिहासिक टेको पनि हो । वर्ल्ड फेडेरेशन फर मेडिकल एजुकेशन २०१२ र वर्ल्ड हेल्थ अर्गनाइजेशन २०१० का अध्ययनले देखाएको मान्यता अनुरुप चिकित्सा शिक्षाको अन्तिम उद्देश्य भनेको नागरिकको स्वास्थ्य स्तरमा सुधार ल्याउनु हो ।

त्यसैले यो विश्वविद्यालयको सफलता जनशक्ति उत्पादन मात्र नभएर समुदायमा देखिने स्वास्थ्य सुधार, पहुँचयोग्य सेवा र जनविश्वासको सकारात्मक मापनमा आधारित हुनुपर्छ । नेपालको भौगोलिक संरचनाको विविधता र सामाजिक असमानतामा सुदूरपश्चिम लामो समयदेखि पछाडि परेको क्षेत्रको रूपमा चिनिंदै आएको छ । तर अब यो क्षेत्रमा विश्वविद्यालयको स्थापनाले स्वास्थ्य शिक्षा र सेवाको नमूना केन्द्र बन्ने सम्भावनातर्फ उन्मुख हुँदैछ ।

सुदूरपश्चिम प्रदेश: भौगोलिक संरचना

सुदूरपश्चिम प्रदेश ९ जिल्लाहरू; कैलाली, कञ्चनपुर, डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी र दार्चुला समेटेर बनेको प्रदेश हो । यहाँको भौगोलिक संरचना तराईदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको कारण स्वास्थ्य सेवाको पहुँचलाई जनस्तरमा चुनौतीपूर्ण बनाएको छ ।

मानव विकास सूचकाङ्क (ह्युमन डेभलपमेन्ट इन्डेक्स–एचडीआई) को आधारमा अछाम, बाजुरा बझाङ्ग, डोटी र दार्चुला तुलनात्मक हिसाबले पछाडि परेका जिल्लाहरू जहाँ स्वास्थ्य सेवा, शिक्षा र पूर्वाधार कमजोर रही  राष्ट्रिय प्रवाहमा आफूलाई सबल भन्दा पनि मानव विकास सूचकांकको न्यून तथ्यको तालिकामा सधैं पछाडि भन्ने अनुभूतिको सामना वर्षौंदेखि गर्दै आएका छन् ।

कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला भारतसँग सिधा सीमा जोडिएका जिल्लाहरू भएका हुनाले सीमापार आवागमन र आपतकालीन स्वास्थ्य सेवामा रणनीतिक महत्व राख्छन् ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रदत्त ऐन मुताविक यसको व्यवस्थापकीय संरचना बनिसकेको छ ।

विधागत कार्ययोजना निर्माणमा आन्तरिक एवं बाह्य सहयोग तथा परामर्शलाई एकीकृत गर्दै प्राज्ञिक र स्वास्थ्य सेवाको थालनी वा सम्पन्न गर्ने दिशामा विश्वविद्यालयले आफ्नो गृहकार्यलाई तीव्र बनाउने कार्यको आरम्भ गरिसकेकोे यकिन गर्न सकिन्छ ।

जनशक्ति उत्पादन हुनुपूर्व जनशक्तिको अभ्यासलाई मध्यनजर गर्दै विषय र विधाभित्र कस्तो पाठ्यसंरचना र पाठ्यक्रमले शैक्षिक एवं समुदायको मर्म र भावनालाई आत्मसात् गरी व्यावहारिक र सैद्घान्तिक शिक्षालाई समानान्तर तादात्म्यता कायम गर्न सकिन्छ त्यसैको सेरोफेरोमा यो लेख केन्द्रित छ ।

समुदायकेन्द्रित शैक्षिक दृष्टिकोण

यस विश्वविद्यालयको शिक्षण विधि अब परम्परागत कक्षा केन्द्रित ढाँचामा सीमित रहनुहुँदैन । समुदायमा आधारित सिकाइ शिक्षा, समस्यामा आधारित सिकाइ र अन्तर विषयक वा अन्तरविधात्मक दृष्टिकोण यसको शैक्षिक मेरुदण्ड हुनुपर्छ । चिकित्सा शिक्षासँग सामाजिक विज्ञान, जनस्वास्थ्य र मेडिकल ह्युमानिटीको एकीकृत संरचनाले मात्र आजको अवस्थामा विद्यार्थीलाई प्रतिस्पर्धी र पूर्ण चिकित्सक बनाउँछ ।

स्थानीय स्वास्थ्य चुनौती सम्बोधन गर्ने पाठ्यक्रम

मातृ तथा शिशु स्वास्थ्य, कुपोषण, सरुवा रोग, मानसिक स्वास्थ्य समस्या र सिकलसेल एनिमिया जस्ता चुनौती यो भेगका प्रमुख स्वास्थ्य समस्या हुन् । विशेषगरी थारू समुदायमा देखिने सिकल सेल एनिमियाले दीर्घकालीन रूपमा  नै स्वास्थ्य चुनौती सिर्जना गरेको छ, जसको अध्ययन, स्क्रिनिङ्ग र उपचार विश्वविद्यालयको प्राथकितामा हुनुपर्छ ।

यो विश्वविद्यालयले सुदूरपश्चिमका अस्पतालहरूलाई स्याटलाइट  अस्पतालको सञ्जाल निर्माण तथा अध्ययनरत चिकित्सा कार्यक्रमका स्नातक र स्नातकोत्तर तहका विधार्थीलाई ती अस्पतालहरूमा व्यावहारिक अभ्यास गराउन शैक्षिक सत्रको अन्तिम वर्षमा कम्तीमा ६ महिना संलग्न गराउन पाठ्यक्रममा नै समावेश गर्न सके झनै प्रभावकारी हुने देखिन्छ ।

ग्रामीणकेन्द्रित स्वास्थ्य जनशक्ति विकास

विश्व स्वास्थ्य संगठनका अनुसार राजधानी बाहिरका स्वास्थ्य शिक्षण संस्थाबाट उत्पादित चिकित्सा जनशक्तिहरू ग्रामीण क्षेत्रमा सेवा दिन इच्छुक हुन्छन् । यसको अर्थ सुदूरपश्चिममा चिकित्सा विश्वविद्यालय स्थापना हुनुले ग्रामीण स्वास्थ्य सुधारको रणनीतिक कदमलाई अझ सबलीकरण बनाउनु हो । नेपालमा विगतका वर्षदेखि चिकित्सा शिक्षा आयोग मार्फत एकीकृत प्रवेश परीक्षा सञ्चालन र केन्द्रीकृत भर्ना प्रणालीको प्रभावकारी कार्यान्वयन प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र निष्पक्ष बनाएको छ । यसले विश्वविद्यालयलाई गुणस्तरीय शिक्षामा केन्द्रित हुन थप सहयोग पुर्‍याउने देखिन्छ ।

डिजिटल स्वास्थ्य प्रणाली : नवप्रवर्तनको आधार

सूदूरपश्चिम जस्तो भौगोलिक रूपले चुनौतीपूर्ण क्षेत्र जहाँ पहुँचको समुचित विस्तारमा डिजिटल स्वास्थ्य प्रणाली अत्यन्त महत्वपूर्ण छ । टेलिमेडिसिन, इलेक्ट्रोनिक्स हेल्थ रेकर्ड र मोबाइल हेल्थ सेवाले दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा र परामर्श पुर्‍याउन मद्दत गर्छ । यस सन्दर्भमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालमा डिजिटल स्वास्थ्य प्रणाली र समुदायमा आधारित सेवाको अग्रगामी अभ्यास र कार्यान्वयन सम्पन्न गरी उदाहरण प्रस्तुत गरिसकेको छ ।

विशेषगरी ग्रामीण स्वास्थ्य केन्द्र र सेवाग्राहीसँगको डिजिटल कनेक्टिभिटी डेटामा आधारित स्वास्थ्य सेवा व्यवस्थापनमा यो प्रतिष्ठानको योगदान अनुकरणीय छ । यस मोडल अनुरुप प्रविधिको सही प्रयोगले ग्रामीण र दुर्गम क्षेत्रको स्वास्थ्य सेवा पहुँचलाई गुणात्मक हिसाबले परिवर्तन गर्न सक्षम बनाउन सक्छ । यही अनुभवलाई अनुकरण गर्दै सुदूरपश्चिमको यो विश्वविद्यालयले सुदूरपश्चिममा अझ व्यवस्थित, विस्तारयोग्य र समुदायमा केन्द्रित डिजिटल स्वास्थ्य प्रणालीको विकास गर्न स्वास्थ्य सूचनाप्रविधिको मूल प्रवाह आफूमा केन्द्रित गर्न सक्छ ।

अनुसन्धान, नवप्रवर्तन, दिगोपन र रोजगारीको अवसर

अनुसन्धान जस्तो गहन विधालाई स्थानीय स्वास्थ्य समस्यामा आधारित भई विश्वविद्यालयबाट गरिएको अनुसन्धानले नीति निर्माणलाई प्रत्यक्ष रूपमा सहयोग प्रदान गर्दछ । विश्वविद्यालयलार्ई शिक्षण संस्था मात्र होइन ज्ञान उत्पादन र नवप्रवर्तन केन्द्रको रूपमा विकास गरी परिवर्तित विश्वको समानान्तर पदचापमा सँगसँगै हिंडाउनु पनि हो । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले स्वास्थ्य सेवा, प्राज्ञिक सेवा सँगसँगै रोजगारी सिर्जना, पूर्वाधार विकास, स्थानीय अर्थतन्त्रको सुदृढीकरण एवं सबलीकरण र सामाजिक सचेतनामा समेत दीर्घकालीन प्रभावको प्रत्याभूति दिलाउन सामर्थ्य प्रदान गर्नेछ ।

विश्वविद्यालयको परिकल्पना : गुणस्तर, मान्यता र अन्तर्राष्ट्रिय सहकार्य

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिकल्पना गर्नुहुने सुदूरपश्चिम क्षेत्रका विद्वान, विशेषज्ञ र प्रबुद्घ व्यक्तिहरूले यसको सुरुआती सन्सेप्ट पेपर तयारी गर्दा यो विश्वविद्यालयको गुणस्तर, मान्यता र अन्तर्राष्ट्रिय सहकार्य जस्तो आदर्शलाई प्रमुख दृष्टिकोणमा राखी विश्वविद्यालय स्थापनामा संलग्न हुनुभएको स्मरण गर्नैपर्छ । स्थापनाकालमा उहाँहरूले गर्नुभएको विगतको काम कारबाही पक्कै पनि ऐतिहासिक साक्षी बन्नेछन् वा हुनेछन् ।

WFME र WHO का मापदण्ड अनुसार गुणस्तर सुधारमा निरन्तरता, मूल्यांकन र अन्तर्राष्ट्रिय सहकार्य विश्वविद्यालयलाई भावी दिनमा आवश्यक छ । यसले विश्वविद्यालयलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिस्तरमा पनि विश्वसनीय र प्रतिस्पर्धी बनाउँछ ।

निष्कर्ष:  “झिक्कै झिक्कै” बाट रूपान्तरणको यथार्थतर्फ

सुदूरपश्चिममा पहिले पहिलेको प्रचलित भनाइ र आज संगीतमय सूदूर पश्चिमेली भाकामा गुञ्जने “सुदूर अब दूर नै, झिक्कै झिक्कै” त्यो दूरीको अभिव्यक्ति मात्र थिएन त्यो सेवा, अवसर र राज्यको पहुँचसँग गहिरो सामाजिक अनुभूति थियो । तर अहिले परिस्थिति फेरिंदैछ । सडक, शिक्षा, स्वास्थ्य संस्था विशेषगरी डिजिटल स्वास्थ्य प्रणालीको विस्तारले त्यो दूरी क्रमश: घटाउँदै छ । प्रविधि र संस्थागत विकासले “झिक्कै झिक्कैै” लाई अब सुदूरपश्चिमले यथार्थमै सावित गराउँदैछ ।

अन्त्यमा, शिक्षा जब समुदायमा पुग्छ, सेवा गाउँ–गाउँमा विस्तार हुन्छ र डिजिटल स्वास्थ्य प्रणालीले भौगोलिक दूरीलाई छोट्याउँछ, त्यसपछि सूदूरपश्चिम नाम मात्र होइन नेपालको स्वास्थ्य क्रान्तिको वास्तविक बिम्ब बन्नेछ ।

(खड्का, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत हुन् ।)

अनलाइन खबरबाट