March 29, 2026, Sunday
२०८२ चैत्र १५

किन बढारिए पुराना दल  ?

२२ र २४ भदौको जेन–जी विद्रोहपछि शान्तिपूर्वक सम्पन्न भएको निर्वाचन परिणाममा पुराना भनिने कांग्रेस, एमाले, राप्रपा र नेकपालाई जनताले प्रतिपक्षमा मात्रै बस्ने गरी सजाय दिएका छन् । पटकपटक सत्तामा गएर पनि युवाको भावना र मर्का बुझ्न नसकेका दलहरूलाई युवाकै सक्रिय सहभागिताको निर्वाचनले सजाय दिएको हो । यसपालि पुराना पार्टीका दुई तिहाइभन्दा बढी अनुभवी नेतालाई जनताले संसद्को बाटो बन्द गरिदिएका छन् । अर्कोतर्फ, २३ भदौको जेन–जी आन्दोलनको मर्म र भावना बुझिदिने र दिवंगत भएका सहिदलाई न्याय दिने पार्टीका रूपमा जनताले रास्वपालाई अवसर दिएका छन् ।

युवाहरूको आशा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मा केन्द्रित भएको छ । संसद्मा अब जेन–जी युवाको जबर्जस्त प्रतिनिधित्व हुने देखिएको छ । त्यस्तै, विज्ञहरूसमेत धेरै हुनेछन् । अर्थविद्समेत रहेका रास्वपा सांसद स्वर्णिम वाग्लेकै भनाइमा नेपाल अहिले ‘जनसांख्यिक लाभांश’ को उपयोग गर्न सक्ने अवस्थामा छ । जनगणना २०७८ ले १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या एक करोड २४ लाख १२ हजार १ सय ७३ देखाएको छ । देशको कुल जनसंख्याको ४२.५६ प्रतिशत हिस्सा युवा जनसंख्या भएको हुँदा हामी अहिले इतिहासकै लाभदायी अवस्थामा छौं । इतिहासमै यत्तिको सक्रिय जनसंख्या विरलै देशले पाउँछन् । यद्यपि नेपालका युवा भने विविध कारणले बिदेसिनुपर्ने बाध्यता छ ।

जेन–जी ‘इन्टरनेट पुस्ता’ समेत हो । यो उमेर समूहका युवाले देश–विदेशको राजनीति र राजनीतिक चरित्र बुझेको छ । देशमै केही भएको देख्न चाहन्छ । सबै कुरा नियमानुसार चल्ने, भ्रष्टाचारमा शून्य सहनशीलता र प्रविधिमा चल्ने सार्वजनिक प्रशासन चाहन्छु । तर हामी यस्तै पक्षमा चुक्यौं । राजनीतिक दलहरूलाई लाग्दो हो, २०४६ को नेपाल र २०८२ को नेपालको तुलना गर्दा विकास भएकै देखिन्छ । तर यथार्थ के हो भने, महसुस हुने गरी विकास हुनुपर्‍यो । अझै पनि २०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि छन् । स्थानीय तहमा यो दर अझै माथि छ ।

हाम्रो विकासको प्रतिनिधि उदाहरण फास्ट ट्र्याक र बुटवल–नारायणगढ सडक हो, जसको निर्माण अवधि लम्बिएको लम्बियै छ । पोखरा अन्तर्राष्ट्रिय विमास्थल र अन्य प्रोजेक्टमा अर्बौं भ्रष्टाचार भयो भन्ने सुन्दा कसलाई रिस उठ्दैन होला ? यसलाई कर्मचारीतन्त्र र दलहरूले बुझेका थिए ? भिजिट भिसा प्रकरण, यती प्रकरण, ओम्नी प्रकरण, बालुवाटार जग्गा प्रकरण, बुढीगण्डकी प्रकरण, क्यान्टनमेन्ट प्रकरण, बाल मन्दिर प्रकरण, नेपाल ट्रस्टको जग्गा प्रकरण, सहकारी ठगी प्रकरण, बाँसबारी जग्गा प्रकरण, गिरीबन्धु टी प्रकरण, वाइडबडी प्रकरणजस्ता तमाम प्रकरणमा दलहरू निर्लज्ज भएर प्रस्तुत भइरहेका होइनन् ? शेरबहादुर देउवाको घरमा भेटिएको पैसालाई एआई भनेर देख्नेहरू र त्यसलाई सही मान्नेहरूबाट अझै केही अपेक्षा गर्न सकिन्छ ? उच्च राजनीतिक नैतिक चरित्र र इच्छाशक्ति पुरानाहरूबाट नागरिकले अनुभूति गरेनन् ।

अहिले आईटी क्षेत्रबाट खर्बौंको निर्यात भयो भनिएको छ, त्यहाँ युवालाई आकर्षण गर्न सकिन्छ । सरकारी सेवामा युवालाई आकर्षण गर्न ‘इन्टर्न’ का रूपमा खटाउन सकिन्छ । पर्यटनमा राम्रो अवसर छ । विदेशस्थित नेपाली डायस्पोराको राम्रो लाभ लिन सकिन्छ । खेलकुददेखि शिक्षा क्षेत्रमा धेरै काम गर्न सकिन्छ । आशा छ, नयाँ सरकारले यसमा ध्यान दिन्छ ।

विदेशका नेपाली युवालाई देशमै आस जगाएर फर्किने माहोल बनाउने काम राजनीतिक इच्छाशक्तिले हुन सक्छ । काम गर्ने वातावरण मिलाउन एक स्थिर र जिम्मेवार सरकारले मात्र सक्छ । राणाकालमा जनताका छोराछोरी पढेर सचेत भए हाम्रो शासन ढल्छ भन्ने भयले विद्यालय नै खोलिएन या खोलिएकामा समेत राणा परिवारकाले मात्र पढ्ने व्यवस्था हुन्थ्यो । अहिलेका शासकले समेत सचेत युवा विदेशिए आफूहरूको शासन र आसनलाई प्रश्न गर्ने कोही रहँदैनन् भनेर युवालाई देशमै रोक्ने योजना र अवसर बनाउन खोजेनन् ।

जनताले पुरानालाई पटकपटक अवसर दिएर धोका पाएको महसुस गरेका थिए । २०७४ को निर्वाचनमा ओली र प्रचण्ड मिले । पछि नेकपा बनाए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भने । तर दुई तिहाइको शक्ति हुँदा पनि आन्तरिक द्वन्द्वमा फसे । संविधान बनेपछि देश समृद्धितर्फ अघि बढ्ला भन्ने आशामाथि विश्वासघात भयो । पुराना दलहरूले देशको तमाम संस्थामा दलीयकरण गरे । सुशासनका लागि गम्भीर भएनन् । सत्तामुखी चरित्र देखाए । युवाले अन्य देशमा जस्तै नेपालमा समेत सदनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तु, परराष्ट्र तथा अन्तर्राष्ट्रिय नीति, डायस्पोराको सरोकार, एआई प्रविधिले निम्त्याउने सम्भावित अवसर र जोखिम, जलवायु परिवर्तन, युवा सरोकार, विकासमा अवरोध गर्ने तत्त्व र कानुन संशोधन जस्ता पक्षमा सदनमा छलफल होस् भन्ने अपेक्षा राख्छन्, तर हामीकहाँ भाषणबाजी, संसद् अवरुद्ध र हाँसो रमाइलो गर्दै संसद्को अमूल्य समय खेर फालिएको थियो । त्यसैले जनता आजित भए । त्यसकारण, नयाँ पार्टीप्रति आशा बढेको हो ।

युवाहरूले भ्रष्टाचारप्रति सरकार निर्मम होस् भन्ने चाहेका थिए । मिडियाले भ्रष्टाचारका दृष्टान्त केलाउँदै गर्दा त्यसमा कडाइका साथ अनुसन्धान गर्न राजनीतिक दलले अनिच्छा देखाए । आफ्ना मान्छे मुछिएका छन् भने अनेक हतकण्डा अपनाएर जोगाउने प्रपञ्च रचे ।

अझै पनि सेवाग्राहीले सरकारी कार्यालयमा अनेक झन्झट, बेचैनी र हैरान व्यहोर्नुपर्ने बाध्यता छ । राष्ट्रसेवक कर्मचारीबाटै सेवाग्राहीलाई अपहेलित र मर्का पार्ने काम हुन्छ । देशमै केही गर्छु भन्ने युवालाई सरकारी कार्यालयको ढिलासुस्ती, बिचौलियाको बिगबिगी र घूस खाने प्रवृत्तिले अवरोध गर्छ । यसमा कसैले ध्यान दिएनन् । जेन–जी विद्रोहपछि समेत युवा भावना र आक्रोश बुझ्न नसकेको तत्कालीन सत्ता साझेदार एमालेको नेतृत्वले युवा विद्रोहलाई आतंकको उपमा दिएर आतंककारी र देश जलाउने भनेर आरोप लगाएको थियो । त्यसको मतियार कांग्रेसलाई समेत जनताले सजाय दिएका छन् ।

अन्त्यमा, अब एमाले–कांग्रेस दुवैले नेतृत्वको शैलीमा परिवर्तन र कार्यपद्धतिमा व्यापक सुधार गर्नुपर्छ । जेन–जी आन्दोलनको मर्मलाई अंगीकार गरेर पुराना दलका नेतृत्वले युवालाई स्थान दिएर आफूलाई सल्लाहकार बनाउनुपर्छ ।

रितेश पन्थी पन्थीले जेन-जीको प्रतिनिधित्व गर्छन्।

कान्तिपुरबाट