February 26, 2026, Thursday
२०८२ फाल्गुन १५

कांग्रेसले सातै प्रदेशमा ठुला चुनावी सभा गर्ने, कुन प्रदेशमा कहिले ?

काठमाडौँ : नेपाली कांग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने तयारी गरिरहेको छ । फागुन ६ गते जनकपुरको तिरहुतियाबाट पहिलो चुनावी सभा गरेको कांग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने तयारी गरिरहेको हो ।

जनकपुरको तिरहुतियाबाट चुनावी प्रतिज्ञापत्रका ‘भिजन–१० सार्वजनिक गरेको कांग्रेसले बाँकी ६ प्रदेशमा चुनावी सभाको तयारी गरेको निर्वाचन परिचालन समितिका संयोजक तथा उपसभापति विश्वप्रकाश शर्माले बताए।

चुनावी सभामा सभापति गगन थापा तथा निर्वाचन परिचालन समितिका संयोजक रहेका उपसभापति शर्मा, उपसभापति पुष्पा भुसाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उपसभापति पुष्पा भुसालका अनुसार ५ स्थानमा गर्ने ठुला चुनावी सभाको मिति निश्चित भएको छ । फागुन १४ गते सुर्खेत, बाँके र रुपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा गर्ने तय भएको उनले जानकारी दिइन् ।

त्यस्तै गण्डकीको पोखरामा १५ गते चुनावी सभा गर्ने तय भएको छ । यसअघि नै काठमाडौँमा फागुन १७ गते चुनावी सभा गर्ने तय भएको छ ।

कोशी र सुदूरपश्चिममा गर्ने चुनावी सभाको मिति भने निश्चित भइनसकेको उपसभापति भुसालले जानकारी दिइन् । ‘प्रदेशगत रूपमा ठुला चुनावी सभा गर्ने हाम्रो तयारी हो । अब कोशी र सुदूरपश्चिममा कहिले सभा गर्ने भन्ने टुंगिन बाँकी छ,’ भुसालले भनिन् ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले एकै दिन तीन स्थानका सभामा शीर्ष नेता सहभागी हुन हेलिकप्टर प्रयोग गरिने जानकारी दिए ।