February 26, 2026, Thursday
२०८२ फाल्गुन १५

टी-२० विश्वकप : आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

काठमाडौं : आइसिसी टी-२० विश्वकपको सुपर-८ मा आज इंग्ल्याण्ड र पाकिस्तान खेल्दैछन्। कोलम्बोको पल्लेकेले स्टेडियममा मंगलबार बेलुकी सवा ७ बजे इंग्ल्याण्ड र पाकिस्तान भिड्न लागेका हुन्।

सुपर-८ मा इंग्ल्याण्ड दोस्रो खेल खेल्दैछ। यसअघि उसले श्रीलंकालाई पराजित गरेको थियो। पाकिस्तान भने पहिलो खेल खेल्दैछ।

यसअघि न्युजिल्याण्ड विरूद्धको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तानले अंक बाँडेको थियो। त्यसकारण उसलाई आजको खेल जित्नैपर्ने दबाब छ।

इंग्ल्याण्डविरूद्ध जित निकाल्न सके पाकिस्तानको सेमिफाइनल सम्भावना प्रबल नै रहन्छ। इंग्ल्याण्ड विजयी भए उसको सेमिफाइनल पुग्ने पक्का हुनेछ।

सुपर-८ को समूह ‘बी’ इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका छन्। प्रत्येकले एक अर्कासँग खेलेपछि शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछ।

हिजो भएको आइसिसी पुरुष टी-२० विश्वकप २०२६ को सुपर-८ ग्रुप १ को ४४औं खेलमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित गरेको थियो।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर २५४ रन बनायो। यो टी-२० विश्वकपमा अहिलेसम्मको दोस्रो सबैभन्दा ठूलो स्कोर हो। वेस्ट इन्डिजले कुल १९ छक्का प्रहार गरेको थियो।  शिम्रोन हेटमायरले ३४ बलमा ८५ रन बनाए (७ चौका, ७ छक्का)। 

रोभम्यान पावेलले ३५ बलमा ५९ रन जोडे।  शेरफेन रदरफोर्ड १३ बलमा ३१ रनमा नटआउट रहे। जिम्बाब्वेका बलरहरूले राम्रो गर्न सकेनन्। रिचर्ड न्गारावा र ब्लेसिङ मुजाराबानीले २-२ विकेट लिए तर रन धेरै खर्चिए। 

२५५ रनको लक्ष्य पछ्याउँदा जिम्बाब्वे १७.४ ओभरमा अलआउट हुँदै १४७ रन मात्र बनाउन सक्यो।  ब्राड इभान्सले २१ बलमा ४३ रन (५ छक्का) बनाए। 

डायोन मायर्सले १५ बलमा २८ रन बनाए। सिकन्दर रजाले २० बलमा २७ रन जोडे।

वेस्ट इन्डिजका स्पिनरहरूले कमाल गरे।  गुडाकेश मोतीले ४ विकेट लिए (४ ओभरमा २८ रन)। अकिल होसेनले ३ विकेट लिए (४ ओभरमा २८ रन)।

वेस्ट इन्डिजले १०७ रनको विशाल अन्तरले जित्यो। यो विश्वकपमा उनीहरूको ठूलो जित हो।

म्यान अफ द म्याच शिम्रोन हेटमायर (८५ रन + २ क्याच) भए।  यो जितले वेस्ट इन्डिजलाई ग्रुप १ मा राम्रो नेट रन रेटसहित माथि पुर्‍याएको छ। ग्रुपमा भारत, दक्षिण अफ्रिका र जिम्बाब्वे छन्। जिम्बाब्वेलाई भने सेमिफाइनल पुग्न अब धेरै कठिन भएको छ।