February 26, 2026, Thursday
२०८२ फाल्गुन १५

डेउडामार्फत राजनीतिक सवाल-जवाफ : आनन्दलाई जिताउन मसुरियामा खेलियो डेउडा

मसुरिया (कैलाली) : गौरीगंगा नगरपालिका ७ स्थित मसुरिया बजारमा डेउडा गीतमार्फत राजनीतिक सवाल-जवाफ हुँदा चुनावी माहोल तताएको छ। डेउडिया गगन अधिकारी, मोहन जोशी र धनसरा साउँदबीच गीतै-गीतमा डेउडा गीतमार्फत चुनावी बहस चलेको हो।

कार्यक्रमका क्रममा डेउडा भाकामा प्रस्तुत गरिएको सवाल–जवाफमा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर बिष्ट (आनन्द बिष्ट) लाई “रूख” चुनाव चिन्हमा छाप लगाएर विजयी गराउन आग्रह गरिएको थियो।

जवाफमा अर्को पक्षले आफ्ना तर्क राख्दै गीतमार्फतै प्रतिवाद गरेका थिए । स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको उक्त जमघटमा डेउडाले राजनीतिक माहोललाई थप रङ्गीन बनाएको थियो। गीतमार्फत गरिएको बहसले बजार क्षेत्रमा चुनावी चर्चा चुलिएको छ।

कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि डेउडा प्रतिस्पर्धाले केही समय मसुरिया बजारको वातावरण निकै तातेको थियो। आगामी निर्वाचन नजिकिँदै जाँदा यस्ता सांस्कृतिक कार्यक्रममार्फत राजनीतिक सन्देश प्रवाह हुने क्रम बढ्दो छ ।

डेउडा गीतको सवाल जवाफमा नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर बिष्टले पनि साथ दिएका थिए । उम्मेदवारको सहभागिताले उक्त सांस्कृतिक कार्यक्रमको रौनकता झन थपिएको थियो ।