कांग्रेस महाधिवेशन सर्न सक्ने संकेत गर्दै कोइरालाले भने- केही समस्या हुनसक्छ

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन तोकिएकै मितिमा नहुने संकेत गरेका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले तोकिएको मिति भन्दा केही दिन पर सर्न सक्ने गरेका हुन ।
नेपाली कांग्रेसको केन्द्रीय समितिले पुस २६ देखि महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधविशनको मुखमा क्रियाशील सदस्यता फारममा विवाद देखिएपछि कोइरालाले महाधिवेशन समयमा नहुने संकेत गरेका हुन् ।
महाधिवेशनको मिति सर्ने हल्लाको विषयमा उनले धेरै चिन्ता नलिन पनि आग्रह गरे । महाधिवेशनको मिति सर्छ भन्ने पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘अहिले त्यो नसोचौं न, हामी समयमै गरौं भन्ने हो, तर क्रियाशीलमा सिरियल नम्बर नै नभएकाले क्रियाशील भरेर त तोकिएको मितिमा गर्छु भनेर भन्नु पनि अलिकति ‘उ’ (समस्या) नै हुन्छ ।’
सिरियल नम्बर नभएको क्रियाशील सदस्यता फारम स्वीकार्य नहुने पनि बताए । ‘सिरियल नम्बर नभएको क्रियाशील सदस्यता फारम स्वीकार्य हुँदैन भनेर हामीले सभापतिजीलाई भनिसकेका छौं र त्यो क्यान्सिल पनि भएको छ,’ उनले भने, ‘सिरियल नम्बर नभएको फारम कसैले नभर्नुहोला, नयाँ फारमहरू छिट्टै साथीहरूको माझमा आउनेछन् ।’
नेता कोइरालाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ मा चुनाव गराउन इच्छुक नभएको हो कि भन्ने शंका पनि लाग्न थालेको बताए।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यका छाड्न नदिने विषय उठाएर सरकारको नियतमाथि शंका व्यक्त गरे ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले फागुन २१ को निर्वाचनमा भाग लिने भनेर निर्णय गरिसकेको छ। हामीले चुनावमा भाग लिने भनेका छौं,’ कोइरालाले भने, ‘तर, शान्ति सुरक्षा त सरकारले मेन्टेन गर्न पर्यो नि! ५ हजार कैदी अझै फरार नै छन्। लुटिएको हतियार फिर्ता भएको छैन। एउटा पार्टीको अध्यक्षलाई भ्याली नछोड्न भनिएको छ। यस्तो अवस्थामा कसरी चुनाव हुन्छ भन्ने? मलाई त सरकार नै इच्छुक छ कि छैन भन्ने डर लाग्न थालेको छ।’





प्रतिकृया दिनुहोस्