March 5, 2026, Thursday
२०८२ फाल्गुन २१

काग्रेसले २४ घन्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम पठाउने

काठमाडौँ : नेपाली काग्रेसले २४ घन्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम पठाउने निर्णय गरेको छ। महामन्त्री गगन थापा संयोजक रहेको कांग्रेस क्रियाशील व्यवस्थापन समितिले २४ घन्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम पठाउने निर्णय गरेको हो।

समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले क्रम संख्या भएका फारम पठाउने निर्णय भएको जानकारी दिएका हुन।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा क्रमसंख्या नभएका फारम पुगेपछि आलोचना भएको थियो भने यसले विवाद पनि सिर्जना गरेको थियो। त्यसपछि समितिले आज बैठक गरेर क्रम संख्या उल्लेख रहेका फारमहरू पठाउने निर्णय गरेको हो।

‘हामीले २५ प्रतिशत फारम जेनजी आन्दोलनअघि नै जिल्लाहरूमा पठाएका थियौं, ती फारमअनुसार क्रियाशील सदस्यता वितरणको काम गर्दै गर्ने र २४ घन्टाभित्र क्रम संख्या उल्लेख रहेका फारम जिल्ला तथा क्षेत्रहरूमा पठाउने निर्णय भएको छ,’ रसाइलीले भने।

साथै जनसम्पर्क समितिहरूमा पुस ५ गतेभित्र अनलाइनमार्फत् फारम भर्न सक्ने गरी समय दिने निर्णय भएको छ।

काग्रेस नेता शेखर कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालले आज सभापति शेरबहादुर देउवालाई भेटेर क्रियाशील सदस्यतासम्बन्धी क्रम संख्या नरहेका फारम जिल्लाहरूमा पुगेकोमा ध्यानाकर्षण गराएका थिए।