December 7, 2025, Sunday
२०८२ मंसिर २१

प्रगतिशील लोकतान्त्रिक पार्टीले सार्वजनिक गर्‍यो ८ बुँदे प्रतिबद्धता, गर्यो पाँच सदस्यीय अध्यक्ष परिषद गठन

काठमाडौँ : प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो ८ बुँदे संकल्प तथा प्रतिबद्धता सार्वजनिक गरेको छ।पार्टीले आइतबार सार्वजनिक गरेको राजनीतिक घोषणापत्रमा उक्त प्रतिबद्धता सार्वजनिक गरिएको हो।

आठ बुँदे प्रतिबद्धता

१. हामी नागरिकसँग कहिले नकारात्मक व्यवहार गर्ने छैनौं, सकारात्मक सोचबाट अभिप्रेरित हुनेछौं। हामी परिणाममुखी र उदाहरणीय शासन सञ्चालन गर्नेछौं। हामी नेता-कार्यकर्ताले कुनै पनि खाले विभेद र अमानवीय कार्य गर्ने गराउने छैनौं। हामी भ्रष्टाचार, महिला हिंसा र जातीय तथा लैगिंक विभेदजस्ता अमानवीय कार्यमा संलग्न हुने छैनौं।

हामी अग्रगामी सोच र चिन्तनबाट अभिप्रेरित हुने छौं। हामी राजनीति अर्को चुनावका लागि होइन, अर्को पुस्ताका लागि हो भन्नेमा दृढ छौं। हामी जागिरे मानसिकताबाट मुक्त भई देशका लागि पहलकर्ताको भूमिकामा रही काम गर्नेछौं।

न्यायको पक्षधर, इमानदारी, नैतिकता, देशभक्ति, परिवर्तनको वाहक र अग्रगामी सोच हाम्रो साझा प्रतिबद्धता हो। पार्टीका आम स्वयंसेवीहरू श्रमशीलता, सक्रियता, सिर्जनशीलता, अध्ययनशीलता, जबाफदेहिता, पारदर्शिता र नैतिक मूल्यका आधारमा राष्ट्रसेवाको मार्गमा अघि बढने छौं। 

२. लामो समयदेखि अल्पविकास, गरिबी र बेरोजगारीको दुष्चक्रमा फसेको देशलाई केही वर्षभित्र अल्पविकसित देशहरूको समूहबाट बाहिर निकाल्ने, १० वर्षभित्र मध्यम आयस्तर भएको देश बनाउन र २५ वर्षभित्र विश्वका विकसित मुलुकहरूको हाराहारीमा समतामूलक समृद्धि हासिल गर्न प्रतिबद्ध छौं।

३. आदिवासी जनजाति, खस-आर्य र मधेसी, निसाद थारू, यी तीन जातीय क्लस्टर र महिला, दलित, मुस्लिम लगायत अन्य समुदायको समानुपातिक समावेशी सहभागिता, प्रतिनिधित्व, पहुँच र एकताबाट इन्द्रेणी राष्ट्रियताको प्रवर्द्धन गर्न एवं पहिचान र अधिकार सहितको संघीय ढाँचामा राज्य पुनर्संरचना गर्न प्रतिबद्ध छौं। 

४. चौतर्फी भ्रष्टाचारको दलदलमा फसेको मुलुकमा सुशासन र सदाचार कायम गर्ने छौं। राजनीति र सरकारी सेवालाई भ्रष्टाचारको दलदलबाट निकालेर भ्रष्टाचारप्रति शून्य सहनशीलताका लागि संरचनागत पुनर्संरचना सहितको सुशासन र सदाचार कायम गर्नु पार्टीको महत्त्वपूर्ण कार्यभारका रूपमा ग्रहण गर्ने संकल्प गर्दछौं।

५. झन्डै डेढ अर्ब जनसंख्या भएका दुई विशाल देशहरूको बीचमा रहेको र भूमण्डलीकृत पुँजीवादी विश्वसँग अभिन्न ढंगले गाँसिएको नेपालको स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा निम्ति क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिको उचित मूल्यांकन गर्दै सुरक्षा नीति र संरचना विकास गरिने छ।

६. आगामी दशकहरूमा विश्व तथा क्षेत्रीय शक्ति केन्द्रहरूको प्रभुत्व निम्ति प्रमुख प्रतिस्पर्धाको थलो हिन्द- प्रशान्त क्षेत्र र हिमाली क्षेत्र हुनसक्ने भू-राजनीतिक प्रक्षेपणलाई ध्यान दिँदै देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई राष्ट्रिय हितमा समयानुकूल विकास र अद्यावधिक गरिनेछ।

देशको परराष्ट्र नीतिको समयसापेक्षित परिमार्जन र असमान सन्धिहरूको खारेजी र खुला सीमानाको व्यवस्थापन हाम्रो मुख्य प्राथमिकता हुनेछ। विद्यमान भू-राजनीति समेतलाई मध्यनजर गर्दै सबैसँग पञ्चशीलको सिद्धान्तका आधारमा सन्तुलित र असंलग्नताको नीति अवलम्बन गर्नेछौं।

गौतम बुद्ध जन्मेको देश नेपाललाई विश्व शान्तिको केन्द्रका रूपमा विकसित गर्ने गरी आवश्यक रणनीति अपनाउनेछौं।

७. पार्टीको मूल लक्ष्यका रूपमा लोकतान्त्रिक मूल्यमान्यतामा आधारित सामाजिक विशिष्टता सहितको ‘नेपाली समाजवाद’ को वैचारिक-राजनीतिक आलोकमा मुलुकलाई प्रगतिपथमा अगुवायी गर्नेछौं। 

‘मौलिक समाजवाद’ आजसम्मका सबै पूर्ववर्ती समाजवादी विचारबाट शिक्षा लिएर अगाडि बढेको अहिलेसम्मकै नयाँ अग्रगामी समाजवादी चिन्तन हो। यसले गरिबी बाँडने होइन, हरेक नागरिकलाई स्वतन्त्र, धनी, खुसी, सुखी र सम्पन्न बनाउने उद्देश्य राख्छ।

यो नयाँ र उन्नत मोडलको समाजवादमा व्यक्ति र समुदाय, निजत्व र सामूहिकता, सार्वजनिक स्वामित्व र निजी स्वामित्व, राष्ट्रियकरण र निजीकरण, राज्ययन्त्र र बजारतन्त्र, सेवा र मुनाफा, श्रम र पुँजी यी सबै पक्ष वा वर्गको सन्तुलित उपयोग भूमिका हुनेछ।

८. ऐतिहासिक जनआन्दोन, जनयुद्ध, मधेस जनविद्रोह, थरूहट आन्दोलन, आदिवासी जनजाति, खस, महिला, दलित शिल्पी, मुस्लिम, अल्पसंख्यक लगायतका उत्पीडित समुदायले चलाएको संघर्ष मुख्यतः जनयुद्धबाट प्राप्त उपलब्धि र पछिल्लो जेनजी पुस्ताले विद्रोसम्मका त्याग, बलिदान र उत्सर्ग तथा आन्दोलनका क्रममा भएका सहिद, बेपत्ता, घाइते, अपांगहरूको उच्च सम्मान र कदर, संघर्ष, बलिदान, त्यागबाट प्राप्त धर्म निरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व सहितको संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा बाँकी दायित्वको जिम्मा लिँदै उत्पीडित वर्ग र समुदायका बाँकी रहेका अधिकारहरूको प्राप्तिका लागि पार्टी निरन्तर संघर्षरत रहन प्रतिबद्ध छ। 

पाँच सदस्यीय अध्यक्ष परिषद गठन

नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीले पाँच सदस्यीय अध्यक्ष परिषद बनाएको छ। अध्यक्ष परिषदमा दुर्गा सोब, सुदन किराँती, सन्तोष परियार, ओजस्वी भट्टराई र अशोक जयसवाल छन्। डा. बाबुराम भट्टराई र जनार्दन शर्मा भने परिषदमा रहने छैनन्।

अध्यक्ष परिषदमा रहेका सदस्यहरूको वरीयता समान रहनेछ भने चक्रीय प्रणालीका आधारमा बैठकको अध्यक्षता गर्ने नेताहरूले बताएका छन्।

सोब साबिक नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की संयोजक हुन्। उक्त पार्टीका संयोजक डा. भट्टराई थिए। जेनजी आन्दोलनपछि आफू कार्यकारी भूमिकामा नबस्ने भन्दै डा भट्टराईले सोबलाई नेतृत्व हस्तान्तरण गरेका थिए।

सुदन किराँती साबिक माओवादी केन्द्रबाट एकतामा नगएका नेता हुन्। उनी जनार्दन शर्मासँगै एकतामा विद्रोह गरेर अलग बसेका थिए।

सन्तोष परियार राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टीमा गाँसिन आइपुगेका हुन्। उनी रास्वपाका निवर्तमान प्रमख सचेतकसमेत हुन्।

ओजस्वी भट्टराई जेनजी आन्दोलनकी एक अगुवा हुन्। उनी भदौ २३ को आन्दोलनको अग्रपंक्तिमा थिइन्।

अशोक जयसवालले पनि माओवादी पार्टी परित्याग गरेका थिए। गत कात्तिक १९ गते १० घटकबीच एकता भएपछि उनले पनि विद्रोह गरेका थिए।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा गरिएको हो।

अध्यक्ष परिषदसहित पार्टीको केन्द्रीय सदस्य तत्काललाई १५१ सदस्यीय हुने सहमति भएको छ। केन्द्रीय समिति चयन गर्दा पूर्वपार्टीको भनेर भागबन्डा नहुने नेताहरूले बताएका छन्।