November 6, 2025, Thursday
२०८२ कार्तिक २१

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनका दुई प्रस्ताव पेश गर्ने तयारी

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो । 

महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो एक बजे बस्न लागेको हो ।

बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन । सहमतिको प्रयास स्वरुप गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।

आजको बैठकमा महामन्त्री गगन कुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ ।

नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ । सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो ।

संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।

सिंगापुरबाट देउवाको निर्देशन– विशेष महाधिवेशन नगर्नू

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् ।

विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए । तर, त्यो पत्रको कार्यान्वयन नगरी नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न संस्थापनका नेताहरूलाई देउवाले भनेका हुन् ।

गत आइतबारको केन्द्रीय कार्यसमिति नियमित महाधिवेशन कहिले गर्ने भन्नेमा विवाद भएपछि स्थगित भएको थियो । त्यसपछि बसेको संस्थापन पक्षीय नेताहरूको अनौपचारिक बैठकमा सभापति देउवाले विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनको वातावरण बनाउन आफूलाई निर्देशन दिएको जानकारी कार्यवाहक सभापति खड्काले दिएका हुन् ।

बैठकमा सहभागी भएका एक नेताले भने, ‘कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउवाले विशेष महाधिवेशन नगर्न सभापतिज्यूको निर्देशन छ । नियमित महाधिवेशनमा सहमतिको प्रयास गरौँ भन्ने धारणा राख्नुभयो ।’ देउवा हाल उपचारका क्रममा सिंगापुरमा छन् । सिंगापुरबाटै देउवाले खड्कालाई यस्तो निर्देशन दिएका हुन् । 

देउवाले आफू निकटका अरू पदाधिकारीलाई विशेष महाधिवेशनले पार्टीलाई राम्रो नगर्ने भन्दै त्यसतर्फ पार्टीलाई नलैजान भनेको उनको दाबी छ । 

सभापति देउवा श्रीमती डा.आरजु राणा देउवासँग कात्तिक १० गते सिंगापुर गएका थिए ।  जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बुढानीलकण्ठस्थित आफ्नै निवासमा मरणासन्न हुनेगरी कुटिएका दम्पतीले करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए । 

कुटिएपछि पहिलो पटक असोज २८ गते सानेपास्थित पार्टी कार्यालयको केन्द्रीय समिति बैठकमा सार्वजनिक रूपमा देखिएका देउवाले बैठकमा लिखित मन्तव्य दिँदै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।