May 3, 2026, Sunday
२०८३ बैशाख २०

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि पुनः बस्दैछ, महाधिवेशनबारे जुट्ला सहमति ?

काठमाडौँ : कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबारदेखि पुनः बस्दैछ। कांग्रेस मुख्यालयले दिएको जानकारी अनुसार बैठक आइतबार दिउँसो १ बजे सानेपामा सुरू हुने तय भएको हो।

महाधिवेशन कार्यतालिकाबारे विवाद भएपछि शुक्रबार बस्दै नबसी बैठक स्थगित भएको थियो। शुक्रबार बैठक स्थगित गरी आइतबारदेखि पुनः बस्ने गरी सूचना जारी गरिएको हो।

महाधिवेशन कार्यतालिकालाई लिएर सहमति जुटाउनका लागि शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक राखेका थिए।पदाधिकारी बैठकले पनि महाधिवेशनबारे सहमति जुटाउन भने सकेको छैन।

बैठकमा ढिलोमा पुस १६ देखि १९ सम्म महाधिवेशन गर्नुपर्ने एउटा र वैशाख अन्तिममा महाधिवेशन गर्नुपर्ने अर्को प्रस्तावमाथि छलफल भएको नेताहरूले बताएका छन्।

महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्न प्रस्ताव गरेका छन्। यो प्रस्तावमा अर्का महामन्त्री गगन थापा र नेता शेखर कोइराला सकारात्मक देखिन्छन् तर सभापति शेरबहादुर देउवा पक्ष चुनावपछि वैशाख अन्तिममा महाधिवेशन गर्न उपयुक्त हुनेमा छन्। त्यसैले महाधिवेशन कार्यतालिकामा सहमति हुन सकेको छैन।

सहमति खोज्नका लागि आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेछ। सो बैठक केन्द्रीय समिति बैठकअघि हुने जनाइएको छ।

कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै १४ औं महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर समेत बुझाइसकेका छन्।

१४औं महाधिवेशनमा रहेका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए।

पार्टी विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ। तर कांग्रेसका पदाधिकारीहरू विशेष महाधिवेशन भन्दा पनि नियमित महाधिवेशन गर्नुपर्नेमा छन्।

विशेष महाधिवेशन गर्दा केन्द्रीय कार्यसमिति मात्रै परिवर्तन हुने र नियमित महाधिवेशन गरे पार्टीका सबै निकायको अधिवेशन हुनेछ।