एमालेले संसद् पुनर्स्थापनका लागि देशव्यापी जनसभा र प्रदर्शन गर्ने, यस्तो छ तालिका

काठमाडौँ : नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि जनपरिचालन गर्ने भएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले संसद् पुनर्स्थापनका लागि देशका ६ हजार ७ सय ४३ वटै वडामा आगामी कात्तिक २२ गते जनभेला गर्ने भएको हो ।
सबै पालिकामा कात्तिक २५ गते र सबै जिल्लामा २९ गते जनसभा गर्ने निर्णय गरेको छ । त्यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मंसिर ६ गते काठमाडौँमा जनसभा गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले विधान महाधिवेशनबाट पारित दस्तावेजहरू अन्तिम रूप दिएर प्रकाशित गर्ने निर्णय गरेको छ । त्यस्तै सचिवालय बैठकले चार वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।
एमालेले पार्टी पङ्क्तिलाई संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि मैदानमा उतार्ने निर्णय गरेको हो । सचिवालय बैठकले जनपरिचालन गर्ने निर्णय गरेको जानकारीसहित उपमहासचिव प्रदीप ज्ञवालीले कार्यतालिका पनि सार्वजनिक गरे ।
उनका अनुसार कात्तिक २२ गते देशभरका ६ हजार ७४३ वटै वडामा जनभेला हुनेछ । २५ गते पालिकास्तरीय जनप्रदर्शन र २९ गते जिल्लास्तरीय जनसभा गरिने भएको छ ।
काठमाडौं उपत्यकाको हकमा मङ्सिर ६ गते जनप्रदर्शनसहित जनसभा गर्ने एमालेको निर्णय छ । एमालेको जनपरिचालन संसद् पुनर्स्थापनाको मुद्दामा केन्द्रित हुनेछ ।
एमालेले एघारौं महाधिवेशन हुने स्थान परिवर्तन गरेको छ । यसअघि पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको एमालेले अब काठमाडौंमा महाधिवेशन गर्नेगरी निर्णय लिएको हो ।
अध्यक्ष ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकले महाधिवेशनस्थल परिवर्तन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ज्ञवालीका अनुसार, मंसिरमा तय भएको महाधिवेशन काठमाडौंमा नै गर्ने निर्णय गरेको हो ।
‘पार्टीको एघारौं महाधिवेशन हामीले दशौं केन्द्रीय कमिटीको बैठकबाट मंसिर २७ देखि २९ सम्म गर्ने निर्णय गरेका थियौं । महाधिवेशनको स्थल भने परिवर्तन गरेको छ । अब पोखराको सट्टामा काठमाडौंमा गर्ने भएको छ,’ उनले भने ।





प्रतिकृया दिनुहोस्