March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

डोटी भदौ १ (ईरैवार): सुदूरपश्चिममेलीले आज(भदौ १) धुमधामका साथ ‘ओल्के’ पर्व मनाउदैछन् । विपत्तीको समयमा ज्यान जोगिएको खुशियाली यहाँ यो पर्व मनाईने प्रचलन रहेको छ ।
हरेकवर्ष भदौ १ गते मनाईने यो पर्व सुदूरपश्चिमको आफ्नै मौलिक पर्व हो । आफुभन्दा ठुलाबडा, मान्यजन र जेष्ठ नागरीकलाई सम्मान स्वरुप ‘ओल्को’ अर्थात उपहार(हरियो सागपात) दिएर, घरपरिवारसंग बसी मिठो–मसिनो खाएर र आ–आफ्नै मौलिक शैलीमा मनोरञ्जन गरेर ओल्के मनाईन्छ ।
परापुर्व कालदेखी नै यस क्षेत्रमा ‘मरुला भनेर ‘विशु’ खानु, बाँचे भनेर ओल्के खानु’ भन्ने किम्वदन्ती छ । विशु वैशाख १ गते मनाईने सुदूरपश्चिमको अर्को मौलिक पर्व हो ।
बर्षायामका बैशाखदेखी साउनसम्मको समयमा रोगव्याधि तथा महामारी फैलने तथा यहि समयमा विभिन्न प्राकृतिक बिपत्ती आउनसक्ने समय मानिन्छ । यस्तो संकटग्रस्त समयमा ‘मरिन्छ की !’ भनेर वैशाख सक्रान्तीमा विशु मनाउने र बाँचेको खुशीयालीमा भदौ सक्रान्तीमा ओल्के मनाउने प्रचलन रहिआएको जानकारहरु बताउछन् ।
‘विशु र ओल्के विल्कुलै सुदूरपश्चिमका मौलिक पर्व हुन् यिनको विपद्को मान्यतासंग जोडेर मनाउने प्रचलन रहेको पाईन्छ,’ प्रसिद्ध शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्टले भन्छन्, ‘यी पर्वहरुको खास्सै धार्मिक मान्यता भने पाईदैन् ।’
योे पर्व सुदूरपश्चिमबाहेक भारतका कुमाउ र गढवाल तिर पनि मनाईन्छ । ओल्केमा मान्यजनलाई दिईने ओल्कोमा हरियो साग (मुख्यतयाः कर्कलाको गाभा) र फलफुल दिईने गरिन्छ । यसबाहेक अन्न, दुध, दही, घ्यू,गूड र पक्वान्न आदी पनि दिईन्छ । शिल्पकारहरुले आफुले बनाएका सामानहरु पनि दिने गर्दछन् । नयाँ पुस्ताले अचेल आफ्ना मान्यजनहरुलाई लुगाकपडा, पैसा वा यस्तै अन्य उपहार समेत ओल्को स्वरुप दिन थालेका छन् । यसरी ओल्को दिन आएकाहरुलाई मान्यजनहरुले आफुसंग भएको मिठोमसिनो खुवाएर पठाउछन् । ओल्केकै अवसरमा सुदूरपश्चिममा पिङ खेल्ने प्रचलन छ ।
यसकै अवसरमा साउन मसान्तीको राती हातमा ‘भंगिरी’(एक प्रजातीको फुल)को बोटमा मजेटी लगायतका जडिबुटीहरु एकै ठाउँमा पिसेर हातमा लाउने प्रचलन छ । ओल्केको दिन भंगिरी लगाएको हातले मिठो परिकार खाएर भंगिरी चोख्याईन्छ । यसो गरे छालाको रोगको समस्या निको हुने र संक्रमणबाट पनि बच्न सकिने जनविश्वास रहीआएको छ । पछिल्ला वर्षहरुमा भंगिरीको ठाउँ मेहन्दीले लिदै गएको छ ।
विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण मिठो परिकारहरु जस्तै लौन, बावर, माणा, निसौसे, डुब्का लगायतका डोटेली पकाएर खुवाउने प्रचलन रहेको छ ।
ओल्केलाई पर्वहरुको जेठो पर्व भनेर पनि बुझिन्छ । यो पर्वले अन्य पर्वहरुलाई ‘ओल्क्याउने’ अर्थाद अन्य पर्वहरु पनि क्रमशः आउने भएकाले यस्तो भनिएको जानकारहरु बताउछन् ।
ओल्केका अवसरमा ससाना खोलाहरुको पानी पनि समुद्रमा ‘ओल्कीने’ अर्थाद पुग्छन भन्ने मान्यता छ । जसले गाउँमा रहेको धुवा, धुलो र फोहोर पखालिन्छ जसले चाडपर्वहरुमा गाउँ सफा सुग्घर रहन मद्दत पुग्छ भन्ने किम्बदन्ती रही आएको छ ।
ओल्के(भदौ १) का दिन केही ठाउँमा गाउ नजिकका अलिक उच्चो ठाउँमा सबै जना मिलेर रूखका हांगाबिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । जसलाई स्थानिय भाषामा ‘बुढी हालेको’ भनिन्छ । सो बुढीलाइ असोज संक्रान्तीको राती पोल्ने गरिन्छ । जसलाई ‘बूढी पोल्ने’ भनिन्छ । यसलाई द्वापरकालिन समयमा श्रीकृष्णद्वारा मारिएकी राक्षस ‘पुतना’को कथासङ्ग पनि जोडिएकोछ । बुढी पोलेमा लुतो लगायतका रोगहरुबाट सम्पुर्ण परिवारजन मुक्त हुने विश्वास रहिआएको छ ।