April 29, 2026, Wednesday
२०८३ बैशाख १६

जेनजी आन्दोलनका क्रममा प्रहरी जवान उत्तम थापालाई कुट्ने दुई जना पक्राउ

काठमाडौं : प्रहरीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड तथा प्रहरीलाई कुटपिटमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ घर भई हाल काठमाडौंको सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तरगया गाउँपालिका–४ घर भई हाल काठमाडौंको मनमैजु बस्ने २७ वर्षीय सौरभ तामाङ रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार, पक्राउ परेकाहरूले गत भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापालाई कुटपिट गरेको तथा प्रहरी वृत्त महाराजगन्जको कार्यालयमा आगजनी तथा ढुंगामुढा तोडफोड गरेको पाइएको छ ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त महाराजगन्जमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

आन्दोलनकारीको आक्रमणबाट महाराजगन्जका प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान थापाको ज्यान गएको थियो । रासस