शिक्षालयमा ‘सिसिटिभि’ले शैक्षिक गुणस्तर सुधार

दिपायल भदौ १(ई-रैवार): हलमा परीक्षा चलिरहेको छ । परीक्षालाई मर्यादित बनाउन निरीक्षक चनाखो भएर हेरिरहेका छन् । उनीभन्दा बढी चनाखो शिक्षालय दिपायलका प्रमुख शालिकराम डाँगी भएर बसेका छन् । उनी आफ्नै कार्यकक्षमा बसेर ‘सिसिटिभी क्यामरा फुटेज’बाट प्रत्यक्ष सबै हलमा नियालीरहेका छन् ।
यो सेती प्राबिधिक शिक्षालय दिपायलको बिहिबार बिहानको दृश्य हो । उनका अनुसार उनी अचेल परीक्षाको निगरानी गर्न परीक्षा हल कम छिर्छन् । परीक्षा हलमा सिसिटिभी क्यामरा जडान भएपछि कम छिरेर पनि परीक्षा हुनथालेको उनको अनुभव छ । ‘अचेल सिसिटिभि जडान भएदेखी विद्यार्थी गडबडी गर्न त गर्दैनन्,’ उनले सुनाए,‘तरपनि निगरानी गर्न त प¥यो नि ।’
परीक्षा हलमा मात्र होईन्, शिक्षालयले कक्षाकोठा, शिक्षालय परिसर लगायतका ठाउँमा पनि सिसिटिभी क्यामरा जडान गरेको छ । जसले प्रशिक्षार्थीहरुलाई अनुशासित गरेको शिक्षालय प्रमुख डाँगी बताउछन् । ‘जहिँतहीँ सिसिटिभी क्यामरा जडान गरेका छौ । त्यसका फुटेजहरु कोही न कोही हेरिरहेका हुन्छौ । त्यसैले जहाँ फटाही हुन्छ त्यही पुगिहाल्छौ,’ उनले भने,‘यसले प्रशिक्षार्थीहरु सचेत भएका छन् । जे होस राम्रो अनुशासन कायम भएको छ ।’
सिसिटिभीकै माध्यमबाट शिक्षालयमा भएका केही बदमासीहरु पक्रिएपछि प्रशिक्षार्थीहरु झन सचेत बनेको प्रशिक्षक तीर्थराज अवस्थी बताउछन् । ‘शुरुवातमा केही बदमासी भएका थिए । त्यसमा रेकर्ड भएको फुटेजको मद्दतले बदमासी पक्रिएपछि अब सबै सचेत भएका छन्,’ उनले भने ।
सिसिटिभी क्यामरा जडान भएपछि प्रशिक्षार्थीहरुको व्यवहार र सोचमा समेत परिवर्तन आएको स्वयम प्रशिक्षार्थीहरु बताउछन् । ‘अब केही जानअन्जानमा केही गल्ती भए क्यामराले समात्छ भन्ने डर लागिहाल्छ,’ शिक्षालयमा अध्ययनरत छात्र धीरज ऐर भन्छन्,‘अर्को भनेको परीक्षामा पनि दायाँबायाँ गर्न पनि पाईन्न । अनि नपढी परीक्षा राम्रो हुन्न, त्यसैले पनि पढ्नुपर्छ भन्ने लाग्छ ।’

सेती प्राबिधिक शिक्षालय सिटिईभिटीको सुदूरपश्चिमको एकमात्र आंगिक शिक्षालय हो । यो शिक्षालयमा हाल ओभरसेयर, आईएस्सी एजी, भेटेरीनरी, कृषि जेटीए, भेटेरीनरी जेटीए, अनमी सहित नौ वटा कार्यक्रममा ६ सय ९२ जना विद्यार्थीहरु अध्ययनरत छन् । ‘ठुलो संख्याका रहेको प्रशिक्षार्थीहरुलाई निगरानी गर्नु चानचुने कुरा थिएन्,’ शिक्षालय प्रमुख डाँगी भन्छन्,‘जेहोस प्रबिधिले साथ दियो । सिसिटिभी क्यामेराले सम्भव बनाएको छ ।’
सिटिईटिभी क्यामेराले शैक्षिक गुणस्तरमा पनि उल्लेखनीय सुधार गरेको शिक्षालयको बुझाई छ । गतवर्षको नतिजामा ओभरसेयर पहिलो सेमेस्टरमा अहिलेसम्मकै उत्कृष्ठ नतिजा आयो । जसमा ८६ प्रतिशत नतिजा आएको छ । ‘अघिल्लावर्षहरुमा मुस्किलले ५५÷६० आउथ्यो,’ शिक्षालय प्रमुख डाँगीले भने,‘अन्य कार्यक्रमहरुमा पनि उत्कृष्ट नतिजा छ ।’
‘यसले प्रशिक्षार्थीहरुमा चिटिङ गर्न पाईन्न र नपढी पास होईन्न भन्ने सोचको विकास भएको छ,’ शिक्षालयका सूचना अधिकारी टीका भट्ट भन्छन्, ‘त्यसैले मेहनत गरेर जाँचमा आएपछि नतिजा स्वभावतः राम्रो आउने नै भयो ।’





प्रतिकृया दिनुहोस्