मन्त्रीको सूचीबाट खगेन्द्र सुनार र श्रेष्ठको नाम हट्यो, दुई मन्त्रीको सपथ आजै हुने

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमा सिफारिस गरे मध्येका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नामको अन्तिम समयमा फिर्ता गरेकी छन् । प्रधानमन्त्री कार्कीले पहिलेको सूची सच्याउँदै दुईजनाको नाम मात्रै राष्ट्रपति कार्यलयमा पठाएकी हुन् ।
पहिलेको सूची सच्याउँदै स्वास्थ्य तथा जनसख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकूद मन्त्रीमा बब्लु गुप्ताको नाम सिफारिस भएको छ । दुवैजनाको आजै सपथ हुने कार्यक्रम रहेको छ ।
रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस गरेका खगेन्द्र सुनार र भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिस गरिएका गणपतिलाल श्रेष्ठको नाम अन्तिम समयमा फिर्ता भएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार श्रेष्ठले पर्यटन मन्त्रालयको आकंक्षा राखेका थिए । तर प्रधानमन्त्री कार्कीले उनलाइ भूमी मन्त्रीमा सिफारिस गरेकी थिइन् । जसमा श्रेष्ठले असन्तुष्टी जनाएको बताइएको छ ।
सर्वोच्चदेखि जिल्ला अदालतसम्म मुद्दामामिला विचाराधिन रहेको सार्वजनिक भएपछि श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको नाम पनि प्रधानमन्त्रीले फिर्ता गरेकी हुन् ।
खगेन्द्र सुनारविरुद्ध विभिन्न अदालतमा फौजदारी मुद्दासमेत चलिरहेको र पक्राउ पुर्जी जारी भएको तथ्य सार्वजनिक भएपछि प्रधानमन्त्रीको निर्देशनमा उनको नाम शपथ ग्रहणको सूचीबाट हटाइएको हो।
आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको शपथ ग्रहण कार्यक्रमअघि नै सुनारको नाममा चौतर्फी विवाद भएपछि प्रधानमन्त्री कार्कीले उनको नियुक्ति रोक्ने निर्णय गरेकी हुन्।
मन्त्रीमा सिफारिस भएसँगै सुनारविरुद्ध सर्वोच्च अदालत, सुर्खेत जिल्ला अदालत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य बाहिर आएको थियो।
सुर्खेत जिल्ला अदालतमा उनीविरुद्ध स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा मुद्दा विचाराधीन छ।
गुर्भाकोट नगरपालिका-८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाले दिएको जाहेरीका आधारमा २०८१ असारमा दर्ता भएको मुद्दामा अदालतले उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको थियो। अदालतका अनुसार, पछि आफैँ हाजिर भए पनि उनले नियमित तारेख गुजार्दै आएका छन्।
त्यसैगरी, काभ्रे जिल्ला अदालतमा उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत गालीगलौज र चरित्रहत्याको मुद्दा चलिरहेको छ। अधिवक्ता मनिषा गौतमले आफूमाथि फेसबुकमा गालीगलौज गरेको भन्दै दिएको उजुरीका आधारमा उक्त मुद्दा दायर भएको हो।
यस्तै, जाजरकोटको नवराज विक हत्या प्रकरणमा सुर्खेत उच्च अदालतको फैसला चित्त नबुझेको भन्दै न्यायाधीशहरूमाथि गालीगलौजपूर्ण अभिव्यक्ति दिएपछि अधिवक्ता गौतमले नै सुनारविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनाको मुद्दा दायर गरेकी थिइन्। यो मुद्दा अझै छिनोफानो हुन बाँकी छ।
यसका साथै, सुनार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा दैलेख क्षेत्र नम्बर-१ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि रहेको पनि खुलेको छ।





प्रतिकृया दिनुहोस्