May 3, 2026, Sunday
२०८३ बैशाख २०

प्रधानमन्त्री कार्कीले दलसँग संवाद थाल्दै, को-को सहभागी हुँदैछन् ?

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा तोकिएको निर्वाचनको वातावरण बनाउन दलहरूसँग छलफल थालेकी छन् । प्रधानमन्त्री कार्कीले अनौपचारिक रूपमा राजनीतिक दलहरूसँग छलफल गरे पनि मंगलबार औपचारिक रूपमा पहल सुरु गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्कीले पहिलो चरणमा सात दललाई निर्वाचन केन्द्रित छलफलका लागि बालुवाटार बोलाएकी छन् । मंगलबार राष्ट्रिय मान्यता प्राप्त दललाई २–२ जना उच्चस्तरीय प्रतिनिधि पठाइदिन भनी पत्र पठाएको थियो । संवाद दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ ।

प्रधानमन्त्री कार्कीले कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी र जसपा नेपालसँग पहिलो चरणमा निर्वाचन केन्द्रित छलफल लागेकी हुन् ।

संवाद्‍मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डाक्टर प्रकाश शरण महत सहभागी हुँदैछन् । नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुनेछन् । नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन जाँदैछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम सहभागी हुँदैछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)-महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ जाँदैछन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य प्रकाश अधिकारी तथा जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी हुनेछन् ।

यसअघि प्रधानमन्त्री कार्की राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा भने सहभागी भएकी थिइन् ।

नेकपा एमालेले आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुन नसक्ने निष्कर्ष निकालेको छ । उसले निर्वाचन हुन नसक्ने निष्कर्ष निकाल्दै संसद् पुर्नस्थापनाको माग राखेको छ ।

निर्वाचन आयोगले ३० कात्तिकसम्म दल दर्ताको समय दिएको छ । आयोगमा दल दर्ताको क्रम चल्दै गर्दा प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन यस्तो छलफल थालेको गृहमन्त्री ओमप्रकाश अर्यालको दाबी छ । ‘यो सरकार गठन भएकै निर्वाचनका लागि हो । निर्वाचनको तयारी हामीले निर्वाचन आयोगसहित सबैतिरबाट सुरु गरेका छौं,’ अर्यालले भने, ‘तोकिएकै समयमा भयरहित तथा निष्पक्ष रूपमा निर्वाचन गर्न सरकारले तयारी तीव्र पारेको छ ।’

निर्वाचन तोकिएकै समयमा हुनेमा आशंका नगर्न पनि उनले आग्रह गरे । सरकारले आयोगसँग विभिन्न चरणमा छलफल गरिरहेको र राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म र सरकारका सबै तहले आ–आफ्नो स्थानबाट पहल गरिरहेको उनले दाबी गरे । ‘भयरहित निर्वाचनमा सम्पन्न गराउन सरकारले कुनै कसरत बाँकी राख्दैन,’ मन्त्री अर्यालले भने, ‘शान्तिसुरक्षा र आर्थिक रूपमा सरकारले तयारी गरेको छ । निर्वाचनमा सरकारले कमी गर्छ कि भनेर आशंका गर्न जरुरी छैन ।’

प्रधानमन्त्रीले यसअघि विभिन्न दलका विभिन्न तहका नेतासँग अलग–अलग वार्ता गरिसकेकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनअघि माओवादीका दोस्रो तहका नेताहरूसँग पनि छलफल गरेकी थिइन् । उनले शुक्रबार माओवादीका नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग बालुवाटारमा छलफल गरेकी थिइन् ।