हमासले रिहाई गर्न लागेका २० बन्धकहरुको नाम सार्वजनिक, विपीनको नाम उल्लेख छैन

काठमाडौँ : प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ । जुन सूचीमा विपीन जोशीको नाम उल्लेख छैन ।
यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन । सार्वजनिक गरिएका नामहरू पहिले नै सार्वजनिक भएका २० जना जीवित रहेको भनी अनुमान गरिएका बन्धकहरूको सूचीसँग मिल्छन् ।
उनीहरु सबै इजरायली नागरिक हुन् । यी २० जनालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । उनीहरुलाई लिन अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको टोली गाजा पट्टी पुगेका छन् ।
दुई वर्षदेखि गाजापट्टीमा बन्धक रहेकालाई प्यालेस्टिनी लडाकु समूह हमासले अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) मार्फत विशेष इजरायली सैन्य टोली (आईडीएफ)लाई हस्तान्तरण गर्ने तयारी गरेको थियो । जुन यसअघिको जस्तै प्रक्रिया हुनेछ ।
प्रारम्भिक जानकारी अनुसार बन्धकलाई लिन आईसीआरसी गाजापट्टीमै पुग्नेछ । त्यसपछि इजरायली सैन्य टोलीलाई हस्तान्तरण गरिनेछ । आईडीएफले उनीहरूलाई दक्षिण इजरायलस्थित रईम सैन्य बेसमा ल्याउनेछ । त्यहाँ बन्धकका परिवारका सदस्यहरू स्वागत स्थलमा उनीहरूलाई भेट्न प्रतीक्षा गर्नेछन् । त्यहाँबाट बन्धकहरूलाई थप उपचार र मनोपरामर्शको लागि हेलिकोप्टरमार्फत अस्पताल पुर्याइनेछ ।
इजरायली एक अधिकारीका अनुसार रिहा हुन लागेका बन्धकहरुलाइ यदि तत्काल स्वास्थ्य उपचारको आवश्यकता पर्यो भने स्वागत केन्द्रमा रोकिने छैन । बन्धकहरूलाई सिधै अस्पताल पुर्याइनेछ ।
यस्तो छ सूची
– बार कुपरस्टाइन
– एभ्यातार डेभिड
– योसेफ–चाइम ओहाना
– सेगेभ काल्फोन
– अविनातान ओर
– एल्काना बोहबोट
– म्याक्सिम हेरकिन
– निम्रोद कोहेन
– माटान जाङाउकर
– डेभिड कुनियो
– एइतान हर्न
– माटान एङ्ग्रेष्ट
– एइतान मोर
– गाली बर्मन
– जिभ बर्मन
– ओम्री मिरन
– एलोन ओहेल
– गाइ गिलबोआ–दलाल
– रोम ब्रासलाब्स्की
– एरियल कोनियो





प्रतिकृया दिनुहोस्