May 3, 2026, Sunday
२०८३ बैशाख २०

प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

काठमाडौं : यस वर्षको बडादशैंका दिन प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले यस वर्ष टीका नलगाउने प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिएका हुन ।

बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा ७६ जना युवाहरूले ज्यान गुमाउनु परेको तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले प्रधानमन्त्री कार्कीले यस वर्ष टीका नलगाउने प्रमुख स्वकीय सचिव श्रेष्ठले बाताए ।

प्रमुख स्वकीय सचिव श्रेष्ठका अनुसार प्रधानमन्त्री कार्कीले सर्वसाधारणलाई पनि टीका नलगाउने निर्णय गरेकी छन् ।

आज नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन आज आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ । दशैं घर वा पूजाकोठामा घटस्थापनका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवीदुर्गाको प्रसादको रुपमा टीका–जमरा मान्यजनको हातबाट ग्रहण गर्ने चलन छ ।