April 17, 2026, Friday
२०८३ बैशाख ४

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गर्न सुरक्षा प्रमुखलाई मुख्यमन्त्रि शाहले दिए निर्देशन

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गर्न प्रदेश स्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रि हीरा सार्कीको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समितिको बैठकमा मुख्यमन्त्रि शाहले दसैँ, तिहार र छठ जस्ता चाडपर्वको समयमा आपराधिक क्रियाकलाप बढ्नसक्ने भएकोले शान्ति सुरक्षा तयारीमा लाग्न निर्देशन दिएका हुन।

समाजमा हुनसक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरु नियन्त्रण र सडक दुर्घटना न्यूनिकरण गरी आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको दायित्व भएकोले त्यसतर्फ सहज रहन सुरक्षा निकायलाई उनले निर्देशन दिएका हुन।

प्रदेश सुरक्षा समितिको बैठकमा पछिल्लो समय देशभरी सञ्चालन भएका विभिन्न घटनाहरुले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षामा पारेको प्रभाव र बिद्यमान अवस्थाका बारेमा छलफल भएको मुख्यमन्त्रि शाहको सचिवालयले जनाएको छ ।

छलफलमा भाद्र २३ र २४ गतेको घटना पश्चातको परिस्थितिलाई सामान्यीकरण गरी नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिन नेपाल प्रहरी र मातहतका कार्यालयहरू तथा अन्य सरकारी कार्यालयबाट नागरिक समाज, पेशागत समूहहरुसँग नागरिक सम्वाद र सद्भाव प्रबर्द्धनका कार्यक्रमहरू सञ्चालन गर्न समेत मुख्यमन्त्रि शाहले आग्रह गरे ।

त्यस्तै उनले नेपालीहरुको महान चाडपर्व विजयादशमी, दिपावली र छठको अवसरमा बजारमा खाद्यान्नको सहज आपुर्ति, कालोवजारीको नियन्त्रण र सो अवधिमा हुन सक्ने चोरी डकैती, लुटपाटका घटनाहरुलाई नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न सम्बन्धित सरोकारवालाहरुको समन्वयमा सुरक्षा निकायहरुले प्रभावकारी ढंगले सुरक्षा योजना बनाई लागु गर्न मुख्यमन्त्रि शाहले निर्देशन दिए ।

चाडपर्वको अवसरमा बजारमा हुन सक्ने अस्वभाविक गतिविधिहरु (जस्तैस् मुल्यवृद्धि, अखाद्य वस्तुको मिसावट, म्याद नाघेका खाद्यवस्तुको विक्री) नियमन गर्न सम्बन्धित निकायहरुले अनुगमन तथा मुल्याकंन प्रभावकारी बनाउन र सुदुरपश्चिमबाट भारत जाने मुख्य नाकाहरुमा चाडपर्वको बखत हुन सक्ने लुटपाटका घटनाहरु तथा भारत जाने र आउने नागरीकहरुलाई पर्न जाने सास्तीलाई सहज वनाउन एवं नाकामा हुने अन्य अपराधिक गतिविधिलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरुले आवश्यक सहकार्य गर्ने र सुरक्षा निकायहरूले यात्रु मैत्री एकीकृत जाँचको व्यवस्था मिलाउन मुख्यमन्त्रि शाहले निर्देशन दिएका छन् ।