March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

खप्तड क्षेत्र पर्यटन विकास समिति दुईवर्षदेखी निष्क्रिय

डोटी साउन २९(ई–रैवार): खप्तड क्षेत्र पर्यटन विकास समिति पछिल्लो दुईवर्षयता निष्क्रिय अवस्थामा छ ।  दुईवर्षदेखी सो समितिको कार्यालयबाट कुनै काम भएका छैनन् । कार्यालयका कर्मचारीहरुका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा धन्न कर्मचारीले तलब खान पाए । ‘गत आर्थिक वर्षयता १३ महिनाको तलब नै पाएका छैनौ,’ समितिका शाखा अधिकृत प्रेम कुँवरले भने,‘असारयता हाम्रो करारअवधि नविकरण भएको छ, न हटाईएको छ ।’
उनका अनुसार कार्यालयमा पाँचजना कर्मचारी करारमा नियूक्त छन् । जसमा शाखा अधिकृत कुँवर आफै, सव–इन्जिनियर दिपेश महतरा र कार्यालय सहयोगीहरु धनवहादुर सिंह, शशी सिंह र लोक रावल कार्यरत छन् ।
नेपाल सरकारबाट राजनीतिक नियूक्ती हुने कार्यसमितिको समयाबधी सकिएको पनि एकवर्ष पुग्यो । गत असोजमा समितिको समयाबधी सकिएको छ । कार्यकारी निर्देशकमा नियुक्त भएर आएका यम कुँवर भ्रष्टाचार तथा अनियमितताको आरोप लागेपछि नियूक्ती बदर भएको तीनवर्ष भईसक्यो । यति हुँदाहुँदै पनि न नयाँ समिति नियूक्त भएको छ, न कार्यकारी निर्देशक नै पठाईएको छ ।
पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय तथा गठन सम्बन्धी जिम्मेवारीको अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गरेको छ । यता प्रदेश सरकारले हालसम्म पनि नयाँ समिति गठन गर्ने सुरसार गरेको छैन् ।
यद्यपी प्रदेश सरकारको गत चैत्र १३ गतेको मन्त्रीपरिषदको निर्णयबाट ‘खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन आदेश–२०७५’ स्वीकृत भईसकेको छ । जसमा समितिको गठन र कार्यकारी निर्देशकको नियूक्ती प्रदेश सरकारले गर्ने व्यवस्था छ ।
प्रदेश सरकारबाट गठनआदेश बनाउने काम भएको र यथासक्य चाँडो समिति गठनहुने तयारी भईरहेकोे सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्रालयका शाखा अधिकृत भोजराज पाठकले जनाए ।
यता दुईवर्ष लामो समयसम्म खप्तड पर्यटन क्षेत्र विकास समिति निकम्मा भएर बस्नु दुखद भएको होटल तथा पर्यटन व्यवसायी समिति सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीपकबहादुर खड्का बताउछन् । ‘हुन त भएपनि समिति भ्रष्टचारको अखडा नै भएको हो,’ उनले भने,‘तरपनि सरकारले सुधारेर व्यवस्थित ढंगबाट सञ्चालन गर्नुपथ्र्यो । यत्रो समय निकम्मा भएर बस्दा खप्तडको विकास ओझेलमा परेको छ ।’
अधिकार प्रत्यायोजन भएर आएको एकवर्ष बित्दा पनि प्रदेश सरकारले समेत यसतर्फ ध्यान नदिनु आश्चर्यजनक रहेको डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्र खड्का बताउछन् । ‘खप्तडको नाम लिएर नथाक्ने र बिगतमा पनि त्यहीँ समितिको नेतृत्व लिएका व्यक्ती मुख्यमन्त्री छन् । उनैलाई अधिकार आएको छ,’ उनी भन्छन्,‘तर, काम यस्तो । एक–एकवर्ष बित्दापनि एक समिति गठन गर्नसकेका छैनन् ।’