May 3, 2026, Sunday
२०८३ बैशाख २०

हमासद्वारा विपिनसहित ४८ बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक

काठमाडौँ : हमासले विपिन जोशीसहित ४८ जना बन्धकको सामूहिक तस्बिर सार्वजनिक गरेको छ । प्यालेस्टिनी विद्रोही लडाकु हमासले ‘बिदाइ तस्बिर’ भन्दै आफ्नो नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको सामूहिक तस्बिर शनिबार सार्वजनिक गरेको हो ।

दोहा मुख्यालय रहेको अलजजिरा अनलाइनका अनुसार हमासको ‘कसाम ब्रिगेड्स’ ले सार्वजनिक गरेको संकलित तस्बिरमा जीवित र मृत सबै बन्धकको अनुहार देखाइएको छ । प्रत्येकलाई १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका कप्तान ‘रोन अराड’ को नाम दिँदै फरक–फरक नम्बर दिइएको छ । तर यसलाई इजरायलले ‘प्रपोगान्डा’ का रूपमा लिएको छ ।

तस्बिरमा मृत र जीवित छुट्याइएको छैन । विपिनसहित ४८ जना ७ अक्टोबर २०२३ देखि हमासको नियन्त्रणमा छन् । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि सम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले अलुमिम किबुजबाट बन्धक बनाएको थियो ।

हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थी पनि मारिएका थिए । हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । पछिल्लो दुई वर्षमा भएको पटक–पटकको युद्धविराममा बन्धक र प्यालेस्टिनी कैदी साटिएको थियो । आठ बन्धकलाई इजरायली सैनिकले जीवितै उद्धार गरेका थिए । बाँकी ४८ जना विपिनसहित छन् । २०१४ मा मारिएका इजरायली सेनाको शव पनि हमासकै नियन्त्रणमा छ ।

इजरायलले गाजा क्षेत्रमा सैन्य आक्रमण तीव्र बनाइरहेका बेला ‘बन्धकको जीवन जोखिममा रहेको’ भन्दै हमासले ती तस्बिर सार्वजनिक गरेको हो । ठाउँ–ठाउँमा बन्धकलाई छरेर राखिएको जनाउँदै हमासले इजरायलको आक्रमणबाट बन्धकको जीवन खतरामा परेको र इजरायली बमले केही बन्धकको ज्यानसमेत गइसकेको दाबी गरेको छ ।

इजरायलले आठ महिनाभित्र गाजा क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्ने भन्दै हवाई तथा स्थलगत सैन्य कारबाही तीव्र बनाएको छ । इजरायली सैनिकका अनुसार पछिल्लो २४ घण्टामा सयभन्दा बढी क्षेत्रमा भएको आक्रमणमा ३४ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

नेपालका लागि इजरायली राजदूत शमुलिक ऐर बासले हमासले ‘मनोवैज्ञानिक युद्ध खेलेको’ बताएका छन् । हमासले तस्बिर सार्वजनिक गरेको विषयलाई लिएर उनले भने, ‘मलाई लाग्छ, यो एक गलत बुझाइ हो । हमासले भनेको छ कि सैन्य कारबाहीका कारण सबै बन्धकको स्थान अज्ञात हुन सक्छ । वास्तवमा हमासले राम्रैसँग माइन्ड–वार खेलेको छ ।’

विपिनलाई सकुशल रिहाइ गर्न अघिल्लो महिना आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका थिए । इजरायलको ‘होस्टेज स्क्वायर’ मा भेला भएका हजारौंको भीडलाई सम्बोधन गर्दै विपिनकी बहिनी पुष्पाले रुँदै भनेकी थिइन्, ‘एउटा व्यक्ति ६८० दिनभन्दा बढी समयसम्म अँध्यारो नरकजस्तो कोठरीमा कसरी बाँचिरहेको छ ? कल्पना पनि गर्न सकिन्नँ । दुई वर्षदेखि मेरो परिवारले एउटै मात्र छोरो र मैले मेरो आत्मा, मेरो एउटै मात्र दाजुलाई मिस गरिरहेकी छु ।’

इजरायलका नागरिकले बन्धक छुटाउन इजरायल सरकारलाई दबाब दिँदै आइरहेका छन् । उनीहरूले ‘सबै बन्धकलाई घर फर्काउने विस्तृत सम्झौता गर्नुपर्ने र युद्धको अन्त्य हुनुपर्ने’ आवाज उठाइरहेका छन् ।