September 18, 2025, Thursday
२०८२ आश्विन २

चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन, यी खाद्य वस्तुमा पाइन्छ छुट

काठमाडौँ : विगतका वर्षझैँ यस वर्ष पनि चाडपर्वलक्षित सहुलियत पसल सुरु भएका छन् । यसपटक ४५ जिल्लाका १ सय ११ स्थानबाट चाडपर्वलक्षित सुपथ पसल सुरु भएका हुन ।

चाडपर्वमा सर्वसाधारणलाई सुपथ मूल्यमा खाद्यवस्तु उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र दुग्ध विकास संस्थान (डीडीसी) ले सहुलियत पसल सुरु गरेका हुन् ।

‘विशेष परिस्थितिले औपचारिक उद्घाटन नभएपनि चाडपर्व लक्षित सुपथ पसल सुरु गरेका छौँ । सोमबार बिहानैदेखि सुचारु भएको पसलबाट सर्वसाधारणले अधिकतम लाभ लिन सक्छन्,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्री विभाग प्रमुख भीमबहादुर थापाले भने,‘यसपटक ४५ जिल्लाका १ सय ११ स्थानबाट चाडपर्वलक्षित सुपथ पसल सुरु गरेका छौँ ।’

उपत्यकामा औपचारिक उद्घाटन नभएपनि हुम्ला, मुगु,मनाङ, गोर्खालगायत जिल्लामा स्थानीय प्रशासनले उद्घाटन गरी औपचारिक सुरुवात गरिएको छ । खाद्यले आफ्नो विभिन्न बिक्री केन्द्रमार्फत पसल सुपथ पसल सञ्चालन गरेको हो । ‘यसपटक १ सय ११ बिक्री केन्द्रमध्ये ४९ नयाँ ठाउँमा पसल सञ्चालनमा ल्याएका छौँ, खाद्य वस्तुमा विशेष छुटले सर्वसाधारणको उपस्थिति राम्रो छ,’ थापाले भने, ‘मुलुकभर उत्साह बढेको छ । भीडभाड राम्रो छ ।’

खाद्यले सहुलियत पसलमा खाद्य वस्तु अनुसार प्रतिकिलो ५ देखि १० रुपैयाँसम्म छुट दिएको छ । खाद्यले सबै किसिमका चामल,चिनी र गेडागुडीमा प्रतिकिलोमा ५ रुपैयाँ छुट दिएको छ । खाने तेल, चिउरा ,आटा, मैदामा प्रतिकिलो/लिटरमै ७ रुपैयाँ छुट दिएको छ ।

त्यस्तै, चिउरा, जिरा/धनियाँ र रैथाने उत्पादन (कर्णालीको सिमी, फापरको दाना,, चिनो, कागुनो, उवा, जुम्ली मार्सी, बासमती)मा किलोमै १० रुपैयाँ छुट दिएको छ ।

‘एक किलोमा १० रुपैयाँसम्म छुट हुँदा सर्वसाधारण उत्साहित छन्, विशेष अवसरमा सस्तोमा खाद्यान्न उपलब्ध गराउनु राज्यको दायित्व पनि हो,’ बिक्री विभाग प्रमुख थापाले भने । बिक्री केन्द्रसँगै खाद्यले अनलाइनबाट बिक्री गरेको छ । यस्ता पसल छठसम्म सञ्चालन हुन्छ ।

खाद्यले यसपटक भने छठका खसीबोका र च्याङ्ग्रा बिक्री गरेको छैन । भदौ २३ मा जेन–जीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले स्थानीय तहसँग सम्पर्क टुटेकाले तत्काल बिक्री गर्ने योजनामा छैन । खाद्यले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार मात्रै खसीबोका खरिदबिक्रीको योजना बनाएको छ ।

‘यसपटक दाङ,मकवानपुर,नवलपरासी लगायत जिल्लाबाट १५ सय खसीबोका र मुस्ताङबाट ३ सय च्याङ्ग्रा खरिद गर्ने योजना थियो । घटस्थापनाको दिनबाट बिक्री गर्नेगरी अग्रिम अनलाइन खरिद बुकिङ पनि सुरु भएको थियो,’ खाद्यका एक अधिकारीले भने, ‘तर सरकारले सामाजिक सञ्जाल बन्द गरिदियो । अर्डर लिन सकेनौँ । त्यसपछि आन्दोलन भयो,स्थानीय तहसँग सम्पर्क छुट्यो ।’अब मन्त्रालयको निर्णय र निर्देशन अनुसार खसीबोका र च्याङ्ग्रा खरिद बिक्री हुने खाद्यले भनाइ छ ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चाडपर्वको छुट पसल सञ्चालन गरेको छ । लिमिटेडका सहमहाप्रबन्धक कुमार राजभण्डारीका अनुसार सोमबारदेखि सुरु भएको छुट पसलमा सर्वसाधारणले किलो २ देखी ७ रुपैयाँसम्म छुट पाउँछन् । ‘उपत्यकामा १२ सहित मुलुकभर ४० वटा बिक्री केन्द्रबाट छुट पसल सञ्चालन गरेका छौँ, सोमबार व्यापार सामान्य भएपनि अब दुईचार दिनमा व्यापार बढ्छ,’ उनले भने, ‘सर्वसाधारणको मागलाई मध्यनजर गर्दे ३ वटा घुम्ती पसल पसल पनि सञ्चालनमा ल्याएका छौँ ।’

साल्टले सहुलियत पसलबाट प्रतिकिलो नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, सबै खाने तेल(लिटरमा ) ७ रुपैयाँ, चिउरामा ७ रुपैयाँ छुट दिएको जनाएको छ । त्यस्तै,प्रतिकिलो पिठोमा ७ रुपैयाँ, मैदामा ७ रुपैयाँ र दालमा ७ रुपैयाँ छुट दिएर बिक्री भइराखेको उनले बताए । खाद्य र साल्टबाहेक दुग्ध विकास संस्थान (डीडीसी)ले पनि छुटमा बिक्री गरेको छ । डीडीसीले दुग्धपदार्थमा ७० रुपैयाँसम्म छुट दिएको छ । सर्वसाधारणले एक लिटर घिउ खरिद गर्दा ७० रुपैयाँ छुट पाउने जनाएको छ ।

त्यस्तै,आधा लिटरको घिउ,पनिर,चीज,दही,लालमोहनलगायत ४६ प्रकारका वस्तुमा छुट दिइएको जनाएको छ । डीडीसीको छुट डीडीसी आउटलेटसँगै खाद्यको बिक्री केन्द्रमा पनि पाइने जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी

वस्तु छुट रकम

सबै प्रकारका चामल र गहुँ ५ रुपैयाँ

चिनी ५ रुपैयाँ

दाल गेडागुडी ५ रुपैयाँ

तेल ७ रुपैयाँ

चिउरा,आटा, पिठो, मैदा १० रुपैयाँ

चिया, जिरा, धनियाँ १० रुपैयाँ

रैथाने खाद्य वस्तु १० रुपैयाँ

साल्ट ट्रेडिङ

वस्तु छुट रकम

नुन २ रुपैयाँ

चिनी ५ रुपैयाँ

तेल ७ रुपैयाँ

चिउरा ७ रुपैयाँ

पिठो ७ रुपैयाँ

मैदा ७ रुपैयाँ

डीडीसीले घिउ, पनिर, चीज,दही, लालमोहनलगायत ४६ प्रकारका वस्तुमा छुट दिने