मन्त्री छनोटमा असहमति जनाउदै सुदन समूहले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं : मनलाग्दी मन्त्रिमण्डल गठन गरेको भन्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै आइतबार राती बालुवाटार अगाडि नाराबाजी गरेको छ।
गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाममा असहमति जनाउँदै उनीहरूले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन्। ‘सहजकर्ता बनेर आएको मानिस किन गृहमन्त्री भन्दै,’ उनीहरू आक्रोशित भएका थिए। आन्दोलन अपहरणमा परेको भन्दै उनीहरूले त्यस्तो नगर्न चेतावनी समेत दिए।
‘हामीले नै प्रधानमन्त्री बनाएर यहाँ ल्याएका हौ,’ सुदनले प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिँदै भने, ‘यस्तै हो भने हटाउन सक्ने क्षमता पनि राख्छौ।’ सो क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा नै माग्न भ्याए ।
जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेत सहभागी भएर उनीहरुले नाराबाजी गरेका हुन् । सो क्रममा गुरुङले भने, ‘सबसे पावरफुल नेपाली जनता हो । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छौँ ।’
प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार राष्ट्रपतिले तीन मन्त्री नियुक्त गरेका थिए । तर सुदनको समूह आफूहरुसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै आक्रोश पोखेका हुन् ।
एक सार्वजनिक भिडियोमा नाराबाजीमा संलग्नहरुले भनेका छन्, ‘यो आन्दोलन अरु कसैबाट हाइज्याक भएको छ । आन्दोलनको सहजकर्ता बनेको मान्छेले गृहमन्त्री किन खायो ?’ स्मरण रहोस्, सुदन गुरुङसहितको समर्थनमा कार्की प्रधानमन्त्री बनेकी हुन् ।





प्रतिकृया दिनुहोस्