अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा विवाद हुँदा भद्रकालीमा ‘जेनजी’हरुबिच कुटाकुट

काठमाडौँ : काठमाडौंको सुन्धारा अगाडि जेनजीबिच नै कुटाकुट भएको छ । सुन्धारामा भेला भएका केही जेनजीबिच बिहीबार दिउँसो आपसी विवाद हुँदा कुटाकुट भएको हो ।
जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा भेला भएका छन् । सार्वजनिक भिडियोमा सुरुमा विवाद भएको देखिन्छ भने त्यसपछि एक जेनजीमाथि निर्घात कुटपिट भएको देखिन्छ ।
जेनजी आन्दोलन सफल भएपछि नयाँ सरकारको नेतृत्व कसले लिने भन्ने सवालमा जेनजीहरुबीच विवाद रहँदै आएको छ । धेरै समूहमा रहेका जेनजीहरु एकअर्काले नयाँ नयाँ नाम ल्याइरहेका छन् । सोही नामका समयमा आन्तरिक विवाद बढ्दा कुटाकुटकै अवस्था आएको हो ।
प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि अहिले मुलुक सरकारविहीन अवस्थामा छ । नेपाली सेनाले कमाण्ड हातमा लिएर युवाहरूसँग छलफल गर्न थालेपछि फरक फरक समूह जेनजी आन्दोलनको नेतृत्वकर्ताको दाबी राखेर प्रस्तुत भइरहेका छन् ।
जंगीअड्डा गेटमा माइकिङ गरेर नेपाली सेनाले आफ्नो समूहको ‘लिडर’ को नाम र फोन नम्बर टिपाएर बिहीबार बिहान सम्पर्कमा आउन भनेको थियो । सोही कारण युवाहरूको फरक फरक समूह आफ्ना सिफारिस लिएर त्यहाँ पुग्दा कुरा नमिलेर टकरावको स्थिति पैदा भएको छ ।
अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा एकअर्काका सिफारिसलाई अस्वीकार गर्दै युवाहरूबीच विवाद भएको हो ।





प्रतिकृया दिनुहोस्