April 30, 2026, Thursday
२०८३ बैशाख १८

राजनीतिक दल र सरोकारवालाले खोजी गरेसँगै राष्ट्रपति पौडेलले जारी गरे विज्ञप्ति

काठमाडौँ : मुख्य राजनीतिक दल र सरोकारवाला पक्षहरूले खोजी गरिरहँदा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार एक विज्ञप्ति सार्वजनिक गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राष्ट्रपति कार्यालय शीतलनिवास जल्ने समयमा कार्यालयबाट बाहिरिएपछि पौडेल सार्वजनिक रुपमा देखिएका छैनन् । 

उनले एक वक्तव्य जारी गरेर संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेपछि धेरैले राष्ट्रपति पौडेलबाट राष्ट्रको नाममा सम्बोधन आउने अपेक्षा गरेका थिए । तर, बिहीबार मात्र राष्ट्रपति पौडेलले एक विज्ञप्ति जारी गरेका छन् ।

‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,’ उनले वक्तव्यमा भनेका छन् ।

राष्ट्रपति पौडेलले आन्दोलनरत नागरिकहरूको मागलाई सम्बोधन गर्नका लागि छिटोभन्दा छिटो समस्याको समाधान खोजिने कुरामा विश्वस्त रहन पनि सबैलाई आग्रह गरेका छन्।