May 3, 2026, Sunday
२०८३ बैशाख २०

शिर्ष चार दलका युवा नेता संयुक्त छलफलमा : जेनजीका माग पूरा हुनुपर्छ

काठमाडौं : शिर्ष चार राजनीतिक दलका युवा नेताले भर्चुअल बैठक गरी जेनजीका माग पूरा गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।  

बिहीबारको बैठकमा जेनजीको आन्दोलनपछि उत्पन्न परिस्थितिमा सबैले संयमित भएर निकास निकाल्नुपर्ने जनाउँदै जेनजीका माग पूरा गर्ने निष्कर्स निकालेका हुन् ।

त्यस्तै युवा नेताले छलफलमा दलहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । त्यस्तै पश्चगमनमा फर्किन खोजे प्रतिवाद गर्नुपर्ने निष्कर्ष युवा नेताको छ ।  

छलफलमा नेपाली कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, नेकपा एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी र रास्वपाको तर्फबाट सोबिता गौतम र शिशिर खनाललगायत सहभागी थिए । 

चारवटै पार्टीको आन्तरिक छलफलपछि संयुक्त भर्चुअल संवादमा जुटेका उनीहरूले तीनबुँदे निष्कर्षसमेत निकालेका छन् ।

पहिलो : दलहरूले आत्मसमीक्षा गर्नुपर्छ ।

दोस्रो : जेनजीका माग सम्बोधन हुनुपर्छ ।

तेस्रो : पश्चगमनमा फर्किन खोजे प्रतिवाद गर्नुपर्छ ।

छलफलमा सहभागी एक नेताका अनुसार यही सन्देश जनतामा प्रवाह गर्ने गरी राजनीतिक रूपमा गतिविधि अगाडि बढाउने समझदारी समेत भएको छ ।

राजनीतिक दलहरूको व्यवहार सही नभएको, नेतृत्वले जनतालाई सेवा प्रवाहमा परेको अप्ठ्यारो महसुस गर्न नसकेको जेनजीको बुझाइमा समर्थन जनाउँदै यी विषयमा आत्मसमीक्षा गर्नुपर्नेमा उनीहरू एकमत रहेका छन् ।

यसका साथै जेनजीले सुशासन र भ्रष्टाचार नियन्त्रण चाहेका छन् । यी माग सम्बोधन गर्नुपर्ने र यसका लागि आवश्यक नीति र निर्णय हुनुपर्नेमा पनि उनीहरू सहमत रहेका छन् ।

कुनै शक्तिले नेपाललाई पश्चगमनमा फर्काउन खोजे प्रतिवाद गर्नुपर्ने पनि उनीहरूको साझा निष्कर्ष छ ।

‘राजा र सैन्य शासनका कुरा पनि यदाकदा गर्न थालिएका छन् । कुरा हुनु र प्रक्रियामा अगाडि बढ्न खोज्नु फरक छ । यदि प्रक्रियामा कतै पश्चगमनको गन्ध आयो भने प्रतिवादमा उत्रनुको विकल्प छैन । यसमा हामी एकमत छौं,’ छलफलमा सहभागी एक नेताले भने ।

नयाँ परिस्थितिमा नयाँ सरकार गठनको विषयमा भने मुख्य दलहरू एकै धारणामा पुगेका छैनन् । ‘संसद् भित्रकै सदस्यबाट प्रधानमन्त्री बनाएर जान सकिने अवस्था छ वा छैन भन्नेमा आ-आफ्ना बुझाइ छन् । संसद्‌भन्दा बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने विगतको अभ्यास र अहिलेको अवस्थाबारे मूल्यांकन भएको छ । तर एउटै निष्कर्षमा पुगिएको छैन,’ एक नेताले सुनाए ।