पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा दम्पतीमाथि कुटपिट

काठमाडौँ : प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट गरेका छन् । मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।
जेन–जी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गरेपछि आक्रोशित समूहले बूढानीलकण्ठ देउवा निवासमा पसेर आक्रमण गरेको हो । बूढानीलकण्ठस्थित निवासमा छिरेका आन्दोलनकारीले सुरूमा घरमा आगो लगाएपछि उनीहरूमाथि कुटपिट गरेका हुन् ।
देउवा दम्पतिको सुरक्षाका लागि सोमबार मात्रै थप सुरक्षाबल तैनाथ गरिएको थियो । मंगलबार दिउँसो आन्दोलनकारीको समूह देउवाको निवासमा छिरेर आगो लगाएको थियो ।
कुटपिटपछि उनीहरू दुवैजना रक्ताम्य अवस्थामा देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी राणालाई अपाच्य शब्दमा गाली गरेको सुनिन्छ ।
जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घर लगायत सरकारी भवनमा आगजनी गरेका छन् ।
अहिले उनीहरुले देशभर प्रदर्शन गरिरहेका छन् ।





प्रतिकृया दिनुहोस्