परराष्ट्रमन्त्री आरजु राणाको धनगढीस्थित घरमा आगजनी, गरियो अनिश्चितकालीन निषेधाज्ञा जारी

धनगढी : परराष्टमन्त्री डा. आरजु राणा देउवाको कैलालीको धनगढीस्थित घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् ।
धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको मन्त्री आरजुको घरमा प्रदर्शनकारीहरूले आगजनी गरिदिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा आज दिउँसो १२ बजेर १० मिनेटदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सुरक्षाका कारण देखाउँदै निषेधाज्ञा लागू गरेको हो।
निषेधाज्ञा लागू गरिएका क्षेत्रहरू: प्रदेश प्रमुखको कार्यालय र निवास, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र निवास, जिल्ला प्रशासन कार्यालय, बसपार्क क्षेत्र, सबै प्रदेश मन्त्रालय र निवास, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास, सरकारी कार्यालय क्षेत्र, राजनीतिक दलका पार्टी कार्यालय क्षेत्र, पुष्पलाल चोक क्षेत्र, डिभोटी होटल चोक क्षेत्र रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ कि तोकिएका क्षेत्रमा पाँच जना भन्दा बढीको समूह बनाई हिँडडुल गर्न, कुनै सभा, जुलुस, प्रदर्शन, बैठक वा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
यसअघि पनि आन्दोलनका कारण कैलालीमा तनावपूर्ण अवस्था देखिएको थियो। सुरक्षाकर्मीको सशक्त उपस्थिति बीच प्रशासनले शान्ति–सुरक्षालाई ख्याल गर्दै निषेधाज्ञा जारी गरेको जनाएको छ।





प्रतिकृया दिनुहोस्